Friday, April 25, 2025

काम शुरु भए लगत्तै द्रुतमार्गमा गडबडको उजुरी

काठमाडौँ– राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि सारिएकोे बहुप्रतिक्षित काठमाडौँ–निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) परियोजनाको काम शुरु भए लगत्तै अनियमितताका उजुरीहरू पर्न थालेका छन् ।

यससँगै यो परियोजनाले पनि अन्य परियोजनाकै नियती भोग्नुपर्ने त होइन भन्ने आशंका उत्पन्न भएको छ । आगामी साढे ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने योजनामा नेपाली सेना रहेको छ तर पहिलो गाँसमा नै ढुंगा भनेजस्तै अनियमितताका उजुरी परेको छ जसले कामको गतिलाई असर गर्नसक्छ । सेनाले जिम्मा लिएको र त्यहाँ हुने गडबडको बारेमा अख्यितार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान भने गर्न सक्दैन् ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले अनियमितताबारे उजुरी परेकाले त्यस विषयमा अनुसन्धान र छानबिन भइरहेको हाकाहाकीलाई जानकारी दिए । उनका अनुसार आयोजनको जिम्मेबारी दिइएको एक जना विरुद्ध उजुरी परेको र सोधपुछ भइरहेको बताए । ‘उक्त उजुरीमा अनुसन्धान जारी छ,’ उनले भने । नयाँ डीपीआर स्वीकृत भएपछि अहिले परामर्शदाता छनोटको प्रक्रिया चलिरहेको पाण्डेले जानकारी दिए । ‘मंसिर १ गतेबाट पुलको काम शुरु गर्ने भएकाले परामर्शदाता छनोटको काम अघि बढाइएको छ,’ उनले भने ।

मन्त्रिपरिषद्ले विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) असोज १ गते स्वीकृत गरको थिए । १३ प्रतिशत मूल्य अभिवृद्धि कर सहित सो आयोजना सम्पन्न गर्नका लागि १ खर्ब ७५ अर्ब खर्च हुने सेनाले जनाएको छ । यो लागत पहिला अनुमान गरेभन्दा ३८ अर्ब बढी हो । डिपिआर तयार पार्नको लागि मात्रै ७ करोढभन्दा बढी खर्च भएको थियो ।

द्रुतमार्गमा ८७ वटा पुल र तीन सुरुङ मार्ग महादेब, धेद्रे र लेन डाँडा हुनेछन्। यस्तै तीन इन्टरचेन्ज अर्थात गाडी फर्काउने स्थान(सानो खोकना, बुदुने र निजगढ) निर्माण हुनेछन् भने दुई विश्रामस्थल र दुई टोल प्लाजा कर संकलन केन्द्र हुनेछन् । द्रुतमार्ग ७२.५ किलोमिटर हुनेछ । जटिल भूगोलमा अग्ला १६ पुलसहित ८७ पुल रहनेछ। डीपीआर तयार नहँदा अघिल्लो वर्ष विनियोजन भएको १५ अर्ब मध्ये नौं अर्ब रकम फिर्ता भएको थियो। चारलेनको द्रुतमार्गको चौडाइ पहाडी भूभागमा २५ मिटर र समथरमा २७ मिटर हुने सेनाले जनाएको छ ।

यस द्रुतमार्गले छिमेकी देशहरूबीच व्यापारमा पारवहन मार्गको रुपमा राजधानी केन्द्रित शहरीकरणको चाप घटाउन उल्लेख्य भूमिका खेल्ने विश्वास लिइएको छ। यसका साथै समय र इन्धन बचतले नेपाली व्यवसायीलाई अन्तर्रा्ष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सघाउने सेनाको भनाइ छ ।

सूचना प्रणाली, सुरक्षा संयन्त्र, अग्नी नियन्त्रण, स्वास्थ्य सेवा, ट्राफिक अनुगमन, आकस्मिक सुरक्षा व्यवस्थासहितका विशेष सुविधा उक्त आयोजनाको विषेशता हो। सडकको मार्गा्धिकार भित्रै खानेपानी, अप्टिकल फाइबर, पेट्रोलियम पाइपलाइन, विद्युत प्रसारण लाइन जस्ता अन्य पूर्वाधार विकासको गरिने बताइएको छ।

उक्त मार्ग निश्चित प्रकृतिको सवारी साधन तोकिएको स्थानबाट मात्र प्रवेश गरी तोकिएको गतिको दायरामा गुड्न सक्ने तथा निश्चित स्थानमा मात्र रोक्न मिल्ने विशेष प्रकृतिको देशकै पहिलो नियन्त्रित सडक हुने सेनाको दाबी छ। द्रुतमार्ग निर्माणसँगै काठमाडौँ–तराई यात्रा सात घण्टा छोटिने छ । इन्धन खपत र ढुवानी खर्च उल्लेखित मात्रामा घट्ने छ ।

ताजा समाचार

सम्बन्धित समाचार