Saturday, September 21, 2024

मेलम्ची अनुगमनमा प्रतिस्पर्धा: संसदीय समितिपछि पुगिन् खानेपानी मन्त्री

ललितपुर– काठमाडौँ उपत्यका वर्षौँदेखि मेलम्चीको पानीको पर्खाइमा छ। तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ०४७ मा सिन्धुपाल्चोकको मेलम्चीबाट पानी ल्याएर काठमाडौँका पाटीपौवा पखाल्ने उद्घोष गरेको पनि यहाँका बासिन्दाले भुलेका छैनन्। उनले भनेझैँ दुई दशक अघि मेलम्ची खानेपानी पनि अगाडि बढ्यो।

मेलम्चीकाे अनुगमनमा खानेपानी मन्त्री विना मगर, २० कात्तिक।

तर, ०७६ मा आइपुग्दा पनि मेलम्चीको पानी कहिले आउँछ, यकिन छैन । गत वर्ष दसैँमा पानी आउने भनिएकोमा निर्माण जिम्मा पाएको इटालीयन ठेकेदार कम्पनी सीएमसीले बीचमै काम छाड्यो। ७ महिना त आयोजना नै अन्यौलमा रह्यो। राष्ट्रिय गौरवको आयोजना रहेको मेलम्चीको निर्माणको काम अहिले चिनियाँ कम्पनी सिनो हाइड्रोले गरिरहेको छ।

तर अनुगमनका लागि भने प्रतिस्पर्धा नै चलेको छ। १९ कात्तिकमा प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमन ग-यो। समिति सभापति कल्याणी खड्कासहित सांसदहरुको टोलीले आयोजनाको अनुगमन गरेर चाँडै सक्ने गरी काम गर्न कर्मचारीलाई आग्रह गरिन्।

त्यसको भोलिपल्ट खानेपानी मन्त्री विना मगर सचिव माधव बेल्बासेलाई लिएर मेलम्चीको अनुगमनमा हिँडिन। उनले पनि मेलम्ची आयोजनालाई समयमै सम्पन्न गर्ने गरी काम रफ्तारमा अघि बढाउन निर्देशन दिइन्। उनले भनिन, ‘मेलम्ची आयोजनामा देखिएका समस्या समाधान गरेर सरकार अघि बढ्नेछ। स्थानीयले सडक पिच गर्नु पर्योे भनेर माग गरेका छन्। यो विषयमा सडक विभागसंग छलफल चलिरहेको छ।’

२१ डिसेम्वर २०१८ मा निर्माण कम्पनिले आयोजनाको निर्माण कार्यबाट हात झिकेसँगै मेलम्ची आयोजना अन्यौलमा परेको थियो। गत असोज १० गते मेलम्चीको सुरुङ मार्गको काम र असोज २४ गते हेडवर्क्सको काम सिनो हाइड्रोलाई दिने गरी निर्माण सम्झौतामा हस्ताक्षर भएको थियो। मेलम्चीको बाँकी काम १ अर्ब ८७ करोडमा सम्पन्न गर्न सिनो हाइड्रोले ठेक्का पाएपछि निर्माणको काम रफ्तारमा अघि बढिरहेको छ।

सिनो हाइड्रोले रक डावेलको काम सुरु गरी हेड वर्क्सको फाउण्डेशन ब्लाष्टिङको तयारी गरिरहेको छ। तीन हप्ताको अवधिमा टनेलभित्र ग्राउटिङको काम पनि सुरु भइसकेको छ। कम्पनीले आयोजनाको निर्माण कार्यमा अघिल्लो ठेकेदार कम्पनस्ले प्रयोगमा ल्याएका हेभी इकुप्मेन्ट आवश्यकताअनुसार भाडामा चलाउने सम्झौता पनि गरिसकेको मेलम्ची आयोजनाका सिनियर इञ्जिनियर कमल श्रेष्ठले जानकारी दिए।

उनका अनुसार ब्लाचिङ् प्लानका लागि ३० घनमिटरको मेशिन जडान गरी मिक्सिङको काम तयारी अवस्थामा रहेको छ। असार मसान्तसम्म सुन्दरीजलमा पानी झार्ने योजना रहेको निर्माण कम्पनीका कर्मचारीहरुले बताए पनि सरकारले ‘डेडलाइन’ तोेकेको छैन। यसअघि पटकपटक तोकेका डेडलाइनमा काम सम्पन्न नहुँदा सरकारले आलोचना खेप्नु परेको थियो।

ताजा समाचार

सम्बन्धित समाचार