Wednesday, November 20, 2024

बञ्चरे डम्पिङ साइट : निर्माण कार्य सुस्त, स्थानीयको अवरोध मुख्य समस्या

काठमाडौँ – काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनका लागि सरकारले १४ वर्ष अगाडि नै नुवाकोटको ककनी गाउँपालिकास्थित बञ्चरे डाँडामा ल्याण्डफिल साइट बनाउने घोषणा गरेपनि अहिलेसम्म निर्माण सम्पन्न भएको छैन्।

काठमाडौँ महानगरपालिकाले पछिल्लो पटक दशैँ/तिहार लगत्तै बन्चरे डाँडामा फोहोर फाल्ने समयसीमा तोकेको थियो। तर, त्यो पनि गुज्रेको छ।

विक्रम संम्वत २०६२ सालमा दुई वर्षपछि बञ्चरे डाँडामा लैजाने भन्दै काठमाडौँ उपत्यकाको फोहोर सिसडोलमा फाल्न शुरु गरिएको थियो । तर, १४ वर्षसम्म पनि बञ्चरेमा ल्याण्डफिल साइट नबन्दा काठमाडौँ उपत्यकाको फोहोर सिसडोलमा नै विसर्जन गरिँदै आइएको छ।

बञ्चरेमा ल्याण्डफिल साइट निर्माणको जिम्मा पाएको शहरी विकास मन्त्रालय स्थानीयको अवरोधका कारण समयमै निर्माण कार्य सम्पन्न गर्न नसकेको बताउँछ।

यसअघि हाकाहाकीसँग कुरा गर्दै शहरी विकास मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले दशैँतिहार पछि बञ्चरेमा फोहोर फाल्न सकिने गरी निर्माण कार्य भइरहेको बताएका थिए।

तर, अहिले स्थानीयले ल्याण्डफिल साइट वरपरको जग्गा सरकारले अधिग्रहण गरे मात्र फोहोर फाल्न दिने भन्दै अवरोध जनाएपछि निर्माण कार्यमा बाधा पुगेको उनी बताउँछन्।

बञ्चरे डाँडामा बन्न लागेकाे ल्याण्डफिल साइटकाे नक्सा

ल्याण्डफिल साइट निर्माण कार्य सुस्त गतिमा अघि बढेको स्वीकार्दै उनले बर्खामा सडकका कारण र पछि स्थानीयको अवरोधका कारण तोकेको समय मै सम्पन्न गर्न नसकिएको बताए।

‘कात्तिक महिनाभरीमा काठमाडौँको फोहोर बञ्चरे डाँडामा फाल्ने योजना थियो, तर जुन गतिमा जानुपर्ने थियो त्यो हुन सकेन,’ उनले भने, ‘स्थानीयको विवाद संसदीय समितिमा पुगेको छ, समितिले समस्याको समाधान तत्काल गरे काम चाँडै सम्पन्न हुन्छ।’

कति सम्पन्न भयो ?
बञ्चरे डाँडा ल्याण्डफिल साइट निर्माणको जिम्मा स्थानीय विकास मन्त्रालयले पाएपछि पहिलो चरणमा फोहोर प्रशोधन केन्द्रको भवन निर्माण कार्य शुरु भएको छ । मन्त्रालयका अनुसार उक्त भवनको डिपिसी भइसकेको छ भने फोहोर व्यवस्थापन गर्ने स्थानमा खन्ने काम भइरहेको छ । यसका साथै ल्याण्डफिल साइटमा जियोमेम्रेन(माटो प्रदूषित हुनबाट जोगाउन प्रयोग हुने पातलाे कपडा जस्तो वस्तु) बिछ्याउने काम भइरहेको मन्त्रालयले जनाएको छ।

बञ्चरे डाँडामा बन्न लागेकाे ल्याण्डफिल साइटकाे नक्सा

हाल फोहोर व्यवस्थापन हुँदै आइरहेको सिसडोलदेखि बञ्चरे डाँडासम्मको दुई किलोमिटर लामो तथा ३० मिटर फराकिलो सडक बनेको छ । निर्माण सामग्री लैजान मिल्नेगरी ट्र्याक खुलेपनि त्यसको स्तरोन्नतिको काम सडक विभागले गर्ने छ।

ताजा समाचार

सम्बन्धित समाचार