Sunday, April 27, 2025

गरिमा धानको नक्कली बीउ प्रकरणः बाँके र बर्दियाको करिब ५ सय हेक्टर क्षेत्रफलमा लगाएको धानमा दाना लागेन

नेपालगञ्ज– गरिमा धानको नक्कली बिउबाट किसानसँगै बाँकेका प्रदेश सभा सदस्य आइपी खरेल पनि ठगिएका छन्।

१ सय २५ दिनमा पाक्ने र राम्रो आम्दानी हुने आशामा नेपालगञ्जको त्रिमूर्ति एग्रोभेटबाट प्रति केजी ३ सय ३० मा खरिद गरेर ६ कठ्ठामा लगाएको गरिमा धान १ सय ५२ दिनमा पनि बाला नलागे पछि सभासद खरेल चिन्तित भए र उनले कृषि केन्द्र नेपालगञ्जका कृषि प्राविधिकलाई बोलाएर धान पनि देखाए। कृषि प्राविधिकहरूले धानको बीउ नक्कली भएको र बाला नलाग्ने बताए पछि धान मासेर तोरी छरेका छन्।

बीउ बिक्री कम्पनी, क्वारेन्टाइन कार्यालयको मिलेमतोमा बाँके र बर्दियाका किसानहरूलाई नक्कली धानको बीउ वितरण गरी ठगी गरेको बताउँदै सभासद खरेलले छानबिन गरेर दोषीमाथि कारबाही गर्न र किसानलाई क्षतिपूर्ति दिने व्यवस्था मिलाउन प्रदेश र संघीय सरकारसमक्ष माग गरेका छन्। नक्कली बीउ बिक्री गर्नेमाथि कारबाही र किसानले क्षतिपूर्ति नपाए आन्दोलन नै गरेर भए पनि किसानलाई क्षतिपूर्ति दिलाउने सभासद खरेलले बताए।

नक्कली धानको बीउका कारण बाँके र बर्दियाका किसानको बिचल्ली भएको छ। गरिमा २०७२ सालमा नेपाल सरकारले सूचिकृत गरेको धानको बीउ हो। गरिमा धान करिब ९० देखि ९५ दिनभित्र पसाएर १ सय २५ दिनमा तयार हुनु पर्ने हो तर बाँके खजुराका किसान कर्णबहादुर मल्ल र कौशिला चन्दको खेतमा १ सय ६० दिनसम्म पनि धानमा बाला लागेका छैनन्।

गरिमाभन्दा दुई हप्तापछाडि रोपेको धान पाकेर छिमेकीहरूले खेतमा तोरी छर्ने तयारी गर्दा समेत धानमा बाला नलागे पछि गरिमा धान रोपेका किसान रुनु न हास्नु भएका छन्।

मल्ल र चन्दका छिमेकी चन्द्रबहादुर बस्नेत आफूले भन्दा पहिले रोपेको धानमा अहिलेसम्म बाला नलागेको देखेर अचम्ममा परेको बताए।

बाँके, बर्दिया र दाङमा किसानले रोपेको गरिमा जातको धानमा दाना नलागे पछि प्रदेश ५ सरकारकी कृषि मन्त्री आरती पौडेलले बर्दियाको राजापुर पुगेर गरिमा धान रोपेको क्षेत्रको स्थलगत भ्रमण गरेकी छन्। भ्रमणपछि मन्त्री पौडेलले बाला नलाग्ने गरिमा धानको बिक्री वितरणमा संलग्नलाई कारबाही गरेर किसानहरूलाई क्षतिपूर्ति दिलाउने बताइन्।

गरिमा धान भारतबाट आयात गरेर दाङको सनराइज एग्रिकल्चर रिर्सच सेन्टरले दाङ, बाँके र बर्दियामा बिक्री गरेको सभासद खरेलले बताए।

मन्त्री पौडेलले बाला नलाग्ने गरिमा धानको बीउ बिक्री वितरणमा संलग्नलाई छानबिन गरी क्षतिपूर्ति दिलाउने बताए पनि नक्कली धान बिक्रीमा संलग्नमाथि कारबाही हुन्छ भन्नेमा धेरैले आशङ्का गरेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार