Saturday, September 21, 2024

बाँसका सामग्री बनाउन सुनसरीका मरिक समुदायलाई भ्याइनभ्याइ

सुनसरी सदरमुकाम इनरुवादेखि हरिनगरा गाउँपालिकाको रामनगर भुटहासम्मका मरिकले दिनरात एक गरेर छठलक्षित बाँसका सामग्री बनाउन व्यस्त बनेका छन् ।

जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकामा रहेका मरिक समुदायले छठ आउन केही दिन बाँकी छँदा उनीहरुलाई बाँसको सामग्री बनाउन भ्याइनभ्याइ भएको छ । छठमा प्रयोग हुने कोनिया, ढाकी, नाङ्लोलगायतका बाँसका सामग्री बनाउन व्यस्त बनेको हरिनगरका वीरेन्द्र मरिकको भनाइ छ ।

छठ नजिकिएको बेला बाँसका सामग्रीको माग अत्यधिक हुने गरेको र त्यो बेला बनाउनका लागि भ्याइनभ्याइ हुने भएकाले अहिलेदेखि नै आफूहरु बाँसको सामग्री बनाउन लागेको मरिक समुदायले बताएका छन् ।

गाउँगाउँबाट अहिले रु २०० देखि २५० सम्ममा बाँस किनेर ल्याई छठमा प्रयोग हुने सामग्री बनाउन लागेको स्थानीयवासी गीता मरिकले बताए।

छठपर्वमा बाँसकै सामग्री बढी मात्रामा आवश्यक पर्ने भएकाले वर्षभरि आम्दनी गर्न नपाएका मरिक समुदायलाई यस पर्वको बेलामा राम्रो आम्दानीको अवसर समेत भएकाले उनीहरु व्यस्त हुने गरेका छन् ।

राम्रो आन्दानी गर्ने उद्देश्यका साथ एक महिना अगाडिदेखि नै बाँसको सामग्री बनाउन उनीहरु व्यस्त भएका छन् । बाँसको सामग्री अरु बेला कमैमात्र बिक्री हुने गरेको भएपनि पर्वमा अत्यधिक मात्रामा बिक्री हुने गरेको मरिक समुदायका स्थानीयवासीको भनाइ छ ।

छठपर्व मनाउने प्रत्येक वर्ष बढेकाले बाँसको सामग्री सबैलाई पु¥याउन नै गाह्रो हुने भएकाले अहिलेदेखि नै सामग्री बनाउन मरिक व्यस्त बनेका हुन् । छठमा बाँसका सामग्री पु¥याउनलाई आफूहरु महिना दिन अघिबाट नै काममा व्यस्त बनेको स्थानीयवासी भटाई मरिकले बताए।

हरिनगर र भुटहाबाट रु २०० देखि २५० सम्ममा बाँस खरीद गरी सामग्री बनाई स्थानीयवासीको छठलाई सहज पार्ने प्रयासमा आफूहरु रहेको राधे मरिकले बताए।

यता भुटाहाका मरिकजस्तै लौकही, श्रीपुर, मध्यहर्षाही, भोक्राहा, इनरुवा, डुम्राहा र झुम्काका मरिक समेत छठलक्षित बाँसका सामग्री बनाउन व्यस्त रहेको पाइएको छ । यसरी मरिक समुदाय आधुनिकतासँगै बाँसको सामग्रीको मांग घटेको बेला चाडपर्वमा बाँसको सामग्री बिक्री हुने भएकाले त्यसैमा भएपनि चित्त बुझाउन बाध्य भएका छन् । उनीहरुले मरिक समुदायको जीवनस्तर उकास्नका लागि बाँसको सामग्री नभइ त्यसको विकल्प वा व्यवसायीकरणमा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताएका छन् ।रासस

ताजा समाचार

सम्बन्धित समाचार