Wednesday, November 20, 2024

गैँडा गणना पश्चात ‘क्यारिङ क्यापासिटी’ अध्ययन गरिने

काठमाडौँ—चितवन राष्ट्रिय निकुञ्जमा गैँडा गणना पश्चात मात्र क्यारिङ क्यापासिटी अर्थात् बहन गर्नसक्ने क्षमताको अध्ययन गरिने भएको छ।

यस अघि गत वर्ष चितवन निकुञ्जमा पाटेबाघ र एकसिंगे गैँडाको बहन क्षमताको अध्ययन गरिने घोषणा गरिए पनि गैँडाको गणना एक वर्ष धकेलिएपछि समस्या भएको थियो। ‘बाघको बहन क्षमताको अध्ययन भइसकेको छ, चाँडै प्रतिवेदन सार्वजनिक हुन्छ,’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले भने, ‘गैँडाको गणना पश्चात मात्र बहन क्षमता अध्ययन हुनेछ।’

सरकारले चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडा गणनाका लागि १ करोड १० लाख विनियोजन गरिसकेको छ। गणनाको काम १ चैतदेखि गर्ने गरी निकुञ्जहरूमा प्रमुख संरक्षण अधिकृतको संयोजकत्वमा कार्यदल गठन गरिसकिएको छ, अब विभागमा पनि छुट्टै समिति गठन हुनेछ।

अध्ययनका क्रममा गैँडाका आहारा प्रजाति, वासस्थान, पानी, सुरक्षा, चोरी शिकारका चुनौति, चरीचरण भौगोलिक अवस्थालगायतको विश्लेषण हुनेछ। श्रेष्ठका अनुसारर चितवन राष्ट्रिय निकुञ्जमा गणना गर्न करिब एक महिना लाग्ने छ, भने अन्य निकुञ्जमा संख्या अनुसार १ सातादेखि १० दिनसम्म लाग्ने अनुमान गरिएको छ।

गैँडाको क्यापासिटी अध्ययन भने चितवन निकुञ्जमा हुनेछ। सन् २०१५ को अध्ययन अनुसार मुलुकभर ६ सय ४५ गैँडा रहेकोमा चितवनमा मात्र ६ सय ५ रहेको तथ्यांक छ। तर, विशेषगरी चितवनका गैँडा मर्ने क्रम बढेपछि सरकारले क्यापासिटी अध्ययनको योजना बनाएको हो। २ वर्ष अघि आएको बाढीका कारण चितवनमा धेरै गैँडा बगाएको थियो। केही गैँडा मृत भेटिएका थिए।

चितवन निकुञ्जको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ का ११ महिनामा चितवन निकुञ्जमा ४३ वटा गैँडाको मृत्यु भएको थियो । अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा त्यो संख्या २६ थियो। चितवन निकुञ्जका अधिकारीहरूका अनुसार यहाँ विगत तीन वर्षयता चोरीशिकारको क्रममा कुनै गैँडा मरेका छैनन्। तर गैँडाको मृत्यु हुने क्रम किन बढ्यो भनेर संरक्षणविद् तथा प्रकृतिप्रेमी चिन्तित भएका हुन्।

चितवन निकुञ्ज गैँडाका लागि सबैभन्दा ठूलो वासस्थान भएको क्षेत्र हो। गणनापछि बर्दिया र शुक्लाफाँटामा केही गैँडा स्थानान्तरण गरिएको छ भने चीन सरकारलाई समेत दुई जोडी गैँडा उपहार दिइएको छ।

वासस्थान नास हुँदै गएकाले वन्यजन्तुहरू बस्तीमा आउने, सामुदायिक वनमा वासस्थान बनाउने र अर्को क्षेत्रमा सर्ने गरेको दावी गर्दै आएका छन्। वासस्थानमा ध्यान दिन नसकेकाले पनि समस्या आएको कतिपयको भनाइ छ। दुर्लभ एकसिंगे गैँडा घाँसे मैदान र नदी तटिय क्षेत्रमा बस्छ। गैँडा, बाघ जतिमाथि चुरे क्षेत्रमा नजाने जनावर हो। चितवनलाई विस २०३० मा निकुञ्ज बनाउनु अघि गैँडा आरक्ष क्षेत्र बनाइएको थियो, २०२० मा ।

ताजा समाचार

सम्बन्धित समाचार