महेन्द्रनगर – लालझाडी गाउँपालिकाको देखतभुली–पर्सिया जोड्ने दोदा नदीमाथिको पक्की पुल निर्माण अलपत्र परेको छ। पुलको डिजाइनमा प्राविधिक समस्या देखिएपछि पुल निर्माण अलपत्र परेको हो।
२०७२ पुष २६ देखि शुरु भएको पुलको निर्माण कार्य १ वर्षदेखि ठप्प छ। देखतभुली–पर्सिया जोड्ने १ सय ७० मिटर लामो पक्की पुल २०७५ पुष २६ गतेसम्म निर्माण सम्पन्न गरिसक्नु पथ्र्यो। तर, फुटपाथसहित २ लेनको पुल बनाउने जिम्मा पाएको ठेकेदार कम्पनी लुम्बिनी राजेन्द्र श्रेष्ठ जेभीले प्राविधिक समस्या आएको भन्दै निर्माण ठप्प पारेको छ। पुलको डिजाइनमा समस्या आएकाले पुल निर्माणमा ढिलाई भएको सडक डिभिजन कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणदत्त जोशी बताउँछन्।
नदीमा काठको पुल निर्माण, काठेपुल तर्दा साइकल यात्रुलाई १० रुपैयाँ शुल्क, मोटरसाइकल यात्रुलाई २० रुपैयाँ
‘पुलको डिजाइनमा समस्या रहेछ, निर्माण व्यवसायीले पुलको डिजाइन रिभ्युको माग गर्दै पत्र दियो,’ उनले भने,‘पुलको डिजाइन परिवर्तनमा समय लाग्यो, अहिले विभागले नयाँ डिजाइन परिवर्तन गरेर पठाएको छ ।’ निर्माण व्यवसायीलाई पुल निर्माणको कार्य सुरु गर्न पत्राचार गरिएको उनी बताउँछन् । ‘नयाँ डिजाइन अनुसार काम गर्न निर्माण व्यवसायीलाई पत्राचार गरेका छौं,’ उनले भने,‘निर्माण व्यवसायीले तिहारपछि काम शुरु गर्ने जनाएको छ।’
काठे पुल निर्माण
दोदा नदीमा निर्माणाधीन पुल अलपत्र परेपछि स्थानीयले काठको पुल निर्माण गरेका छन् । लालझाडीको इटाहा बाबा मन्दिर समितिले नदीमा काठको पुल निर्माण गरेको हो। समितिले काठको पुलमा यात्रा गर्ने साइकल यात्रुलाई १० रुपैयाँ र मोटरसाइकल यात्रुबाट २० रुपैयाँ लिने गरेको छ। प्रत्येक वर्ष हिउँदमा इटाहा बाबा मन्दिर समितिले दोदा नदीमा काठको पुल निर्माण गर्ने गरेको पुल तरेको रसिद काटिरहेका रोहीत राना बताउँछन्।
‘प्रत्येक वर्ष समितिले काठको पुल निर्माण गर्छ, वर्षातमा नदीले बगाउँछ,’ उनले भने,‘पुल मर्मत तथा दोस्रो वर्ष पुल निर्माणका लागि पैसा लिने गरेका छौं ।’ काठे पुल तर्नेबाट शुल्क लिनुपर्ने समितिको बाध्यता भएको उनी बताउँछन्। ‘ठेकेदारले अर्को वर्ष पनि पुल पूरा गर्दैन, काठेपुल बनाउन सरकारले पैसा दिँदैन,’उनले भने,‘त्यसैले साइकल यात्रुबाट दिनको १० रुपैयाँ र मोटरसाइकल यात्रुबाट २० रुपैयाँ उठाउने गरेका छौं ।’ निर्माण कम्पनीले दोदा नदीमा पक्की पुल निर्माणमा ढिलाई गर्दा स्थानीयले सास्ती खेप्नु परेको स्थानीय मुलसिंह राना बताउँछन् ।
‘हिउँदमा त इटहा बाबा मन्दिर समितिले पुल निर्माण गरेर नदीमा ओहोरदोहोर गर्न सहज हुन्छ,’ उनले भने,‘वर्षातको समयमा नदीमा बाढी आउँछ, काठे पुल बोगाएर जान्छ ।’ वर्षातको समयमा ज्यान जोखिममा राखेर नदी पार गर्ने गरेको स्थानीय अम्मर राना बताउँछन् । ‘वर्षौदेखि यहाँका स्थानीय ज्यान जोखिममा राखेर नदी ओहोरदोहोर गर्ने गरेका छन्,’ उनले भने,‘सरोकारवाला निकायले पुल निर्माण छिटो सम्पन्न गर्नुपर्छ।’