Saturday, September 21, 2024

विश्वकै उत्कृष्टमा नेपालको ‘ध्वाँसे चितुवा संरक्षण प्रस्तावना’ छनोट

काठमाडौँ– नेपालको ध्वाँसे चितुवा संरक्षण प्रस्तावना विश्वकै उत्कृष्टमा छानिएको छ। कास्की जिल्लाको मादी गाउँपालिकामा ध्वाँसे चितुवा संरक्षणको लागि गरिएको प्रस्तावना मतदानबाट विश्वकै उत्कृष्टमा पर्न सफल भएको हो।

‘युरोपियन आउटडोर कन्जर्भेसन एसोसिएसन’ले विश्वभरबाट छानेको संरक्षण परियोजनामध्ये नेपालको उक्त परियोजना उत्कृष्ट पाँचमा पर्न सफल भएको थियोे।

उत्कृष्ट पाँचबाट सबैभन्दा बढी पब्लिक भोटिङ पाएर नेपालको ध्वाँसे चितुवा संरक्षण प्रस्तावना पहिलो भएको हो। कुल खसेको १८८७२ मतमध्ये सबैभन्दा बढी ८३४२ अर्थात् ४४ दशमलव ५ प्रतिशत मत ’प्रोटेक्ट द क्लाउडेड लियोपार्ड’ ले प्राप्त गरेको थियो।

उक्त परियोजनाले प्रथम भएसँगै तीस हजार युरो प्राप्त गर्नेछ। परियोजनाले उक्त रकम प्राप्त ध्वाँसे चितुवाको संरक्षणमा खर्च गर्ने जनाएको छ।

परियोजना निर्माण गर्ने नेपालस्थित प्रकृतिका साथीहरू नामक संस्थाले कास्की जिल्लाको मादी गाउँपालिकामा करिब तीन वर्षअघि क्यामरा ट्र्या्िपङमा ध्वाँसे चितुवा देखिएपछि संरक्षणको पहल सुरु गरेको थियो।

दिनभर नदेखिने ध्वाँसे चितुवा रातमा मात्र देखिन्छ। विगतमा तीन पटकसम्म छनोट हुन नसकेको परियोजना यस पटक विश्वकै उत्कृष्टमा छनोट भएकोे संस्थाले जनाएको छ।

नेपालको ध्वाँसे चितुवाबाहेक मेक्सिकोको मरुन फ्रन्टेड प्यारोट संरक्षण परियोजना, कोलम्बियाको वन हेरालु संरक्षण परियोजना, इक्वेडरको दस हजार वृक्षारोपण परियोजना र अर्मासनियाको मानव–भालु द्वन्द्व समाधान परियोजना उत्कृष्ट पाँचभित्र रहेको छ। चार परियोजनालाई पछाडि पार्दै पब्लिक भोटिङमा नेपालको उक्त परियोजना प्रथम भएको हो।

घना जङ्गलमा बस्ने राती मात्र बाहिर निस्कने ध्वाँसे चितुवा बिरालो वर्गमा पर्छ। यो अन्य चितुवाभन्दा निकै लजालु हुन्छ। यो प्रजाति रुखमा बस्ने सुत्ने गर्छ। भने बाँदर र दुम्सी मारेर खाने गर्छ। अहिलेसम्म संखुवासभा,कास्की,चितवन,नवलपरासी,रसुवा लगायतका ३२ स्थानमा ध्वाँसे चितुवा देखिएको छ। सन् २०१६ मा नेपाल सरकारले नेपालमा एक सय भन्दा कमको सङ्ख्यामा यो प्रजाति नेपालमा रहेको अनुमान गरेको छ ।

यो परियोजना सँगै अर्को समूहबाट साना स्तनधारी संरक्षण तथा अनुसन्धान फोउन्डेसनले नेपालको ‘चन्द्रागिरि देखि चम्पादेवी ट्रेल सफा गरौँ’ अभियान पनि पहिलो बन्दै अनुदान प्राप्त गर्न सफल भएको छ।

ताजा समाचार

सम्बन्धित समाचार