Wednesday, November 20, 2024

मूल्य निर्धारण नहुँदा सस्तोमा धान बेच्दै सुदूरपश्चिमका किसान

महेन्द्रनगर–सरकारले धानको मूल्य निर्धारण नर्गदा किसान मर्कामा परेका छन् । धानबाली भित्र्याएर बिक्री शुरु गर्दा पनि सरकारले मूल्य निर्धारण नर्गदा किसान सस्तोमै धान बेच्न बाध्य छन्।

किसानले उत्पादन गरेको धान व्यापारीले तोकेको दरमा बेचिरहेका छन् । गत वर्ष प्रतिक्विन्टल १ हजार ९ सय रुपैयाँमा धान बिक्री गरेका किसान यस वर्ष गाउँ घरमा प्रतिक्विन्टल १ हजार ७ सयमा बेचिरहेका छन् भने महेन्द्रनगरमा प्रतिक्विन्टल २ हजारमा बेचिरहेका छन्। समयमा धानको मूल्य निर्धारण नहुँदा मलखाद तथा बीउबिजनका खरिदका लागि सस्तोमा धान बिक्री गरिरहेको कृष्णपुर नगरपालिका–२ बाणिका किसान जगत रानाले बताए।

‘सरकारले जहिले पनि धानको मूल्य ढिला निर्धारण गर्छ,’उनले भने,‘हामीलाई मलखाद तथा बीउबिजन खरिदका लागि पैसाको खाँचो हुन्छ त्यसैले सस्तोमा धान बिक्री गर्छाै ।’ धानको मूल्य निर्धारण नहुँदा सस्तोमा धान बेच्न बाध्य भएको बेदकोट नगरपालिका–१का रमेश भट्ट बताउँछन्। ‘धेरै लगानी र मिहिनेत गरी उत्पादन गरेको धान सस्तोमा बेचिरहेका छौं,’ उनले भने, ‘चाडपर्वमा घर खर्चको व्यवस्थापन गर्न र मलखाद खरिदका लागि सस्तोमा धान बिक्री गर्नुपर्ने बाध्यता छ ।’ उनी जस्तै अधिकांश किसानले चाडपर्वका लागि खर्च व्यवस्थापन गर्न सस्तोमा धान बिक्री गर्छन् । हिउँदे बालीका लागि जोताइ, मलखाद र बीउबिजन खरिद गर्न किसानले व्यापारीहरुसँग सस्तोमा धान बेच्नु परेको नेपाल किसान संघका केन्द्रीय सदस्य नारायणदत्त पन्तले बताए। ‘जहिले पनि धान, गहँु उत्पादन भएका बेला समयमा मूल्य निर्धारण हुँदैन,’ उनले भने, ‘जसका कारण साना किसानहरूले सस्तोमै धान बेच्नुपर्छ ।’ सरकारले धानको उत्पादन हुनुभन्दाअगावै मूल्य निर्धारण गरिनुपर्ने उनको भनाई छ।

सरकारले धानको न्यूनतम मूल्य प्रति केजी २० देखि २५ रुपैयाँ निर्धारण गर्नुपर्ने उनी बताउँछन् । ‘किसानले धान उत्पादनमा धेरै लगानी र मिहिनेत गरेको हुन्छ,’ उनले भने ‘किसानलाई कृषि पेसामा टिकाउनका लागि उचित मूल्य तोकिनु पर्छ ।’ कृषकले धान बिक्री गर्न थालेपछि केन्द्र सरकारलाई मूल्य निर्धारण गर्न आग्रह गरिएको कञ्चनपुर प्रमुख जिल्ला अधिकारी सुशिलकुमार वैद्यले बताए।

‘यहाँका अधिकांश किसानले धान भित्र्याएका छन्,’ उनले भने, ‘किसानले धानको मूल्य नपाएको गुनासो गरेकाले केन्द्र सरकारसँग मूल्य निर्धारण गर्न आग्रह गरेका छौं ।’ सरकारले मूल्य निर्धारण गर्ने भएकाले पहल भइरहेको नेपाल खाद्य संस्थान कञ्चनपुरका प्रमुख जैयराज जोशी बताउँछन् । ‘किसान सस्तोमा धान बेच्न बाध्य छन्, चाडो मूल्य निर्धारण गर्न आग्रह गर्दै संस्थानको केन्द्र कार्यालयमा पत्र पठाएका छौं,’उनले भने, ‘पत्र पठाएको १ महिना पुग्न लाग्यो तर अहिलेसम्म पत्रको उत्तर आएको छैन् ।’ सुदूरपश्चिममा एक लाख ८१ हजार चार सय २४ हेक्टर क्षेत्रफलमा धान रोपाई हुँदै आएको छ। सुदूरपश्चिम प्रदेशमा गत वर्ष ५ लाख ८४ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार