Saturday, September 21, 2024

यस्तो छ नेपालमा हिउँदे वर्षाको पूर्वानुमान

काठमाडौँ– यस वर्षको हिउँद महीनामा नेपालका चार प्रदेशमा सरदर भन्दा कम वर्षा हुने भएको छ। गत सेप्टेम्वर २३ देखि २५ सम्म भारतको केरलामा सम्पन्न पन्ध्रौ दक्षिण एसियाली जलवायू दृष्टिकोण मञ्चले जलवायू प्रारुपका आधारमा यो प्रक्षेपण गरेको हो ।

मञ्चले अक्टोवर देखि डिसेम्वर सम्म ३ महीना दक्षिण एसियाको मौसमको पूर्वानुमान गरेको छ। सम्मेलनमा सहभागी जल तथा मौसम विज्ञान विभागकी बरिष्ठ मौसमविद इन्दिरा कँडेलका अनुसार, प्रदेश नम्वर २ प्रदेश नम्वर ३ को चितवन धादिङ तथा गण्डकी र कर्णाली प्रदेशका भूभागमा सरदर भन्दा कम वर्षा हुने अनुमान गरिएको छ।

त्यसबाहेकका बाँकी भूगामा भने सरदर रुपमा नै वर्षा हुने कंडेलले बताइन। मञ्चले श्रीलङ्का, माल्दिभ्स र म्यानमारमा भने सरदर भन्दा बढी वर्षा हुने आंकलन गरेको छ। जलवायू प्रारुपका आधारमा मञ्चले हरेक वर्ष दक्षिण एसियाका भूभागमा मौसमको पूर्वानुमान गर्ने गर्दछ। विश्वव्यापी रुपमा भैरहेको तापक्रम वृद्धिको निरन्तरताले दक्षिण एसियाको तापक्रम र वर्षाको दरमा पनि उतार चढाव देखिने मञ्चको भनाई छ। ऋतुगत रुपमा दक्षिण एसियाको हावापानीलाई मुख्य प्रभाव पार्ने जलवायूको अवस्था, विश्वव्यापी जलवायू प्रारुपको अध्ययन गरेर वेलायत, जापान तथा दक्षिण एसियाका जलवायूविदहरुले साझा दृष्टिकोण तयार गरेका हुन् ।

दक्षिण एसियाको हावापानीलाई प्रभाव पार्ने प्रशान्त महासागरको पानीको तापक्रममा निर्भर रहने ‘इलिनो’ ‘लानिना’ र ‘इन्सो’ को हालको तटस्थ अवस्था तथा हिन्द महासागरमा विकसित हुने दुई ध्रविय सामुन्द्रिक तापक्रमको आधारमा मौसमविदहरुले मौसमको पूर्वानुमान गर्दछन् । ३४ देखि ६७ प्रतिशत बर्षा हुनलाई सरदर र ६७ भन्दा बढीलाई सरदर भन्दा बढी र ३४ प्रतिशत भन्दा कमलाई सरदर भन्दा कम वर्षाको रुपमा लिइन्छ ।

ताजा समाचार

सम्बन्धित समाचार