काठमाडौँ– नेपालको ध्वाँसे चितुवा विश्वव्यापी संरक्षण परियोजनाको उत्कृष्ट पाँचमा परेको छ। ‘युरोपियन आउटडोर कन्जर्भेसन एसोसिएसन’ले विश्वभरबाट छानेको संरक्षण परियोजनामध्ये नेपालको परियोजना उत्कृष्ट पाँचमा पर्न सफल भएको हो।
उत्कृष्ट पाँचबाट सबैभन्दा उत्कृष्ट छनोट भएमा परियोजनाले तीस हजार युरो प्राप्त गर्नेछ। अहिले यसलाई अनलाइन मतदानमा राखिएको छ। अनलाइन भोटका आधारमा उत्कृष्ट भएमा मात्र परियोजनाले उक्त रकम प्राप्त गर्ने र यसले ध्वाँसे चितुवाको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।
परियोजनालाई उत्कृष्ट छनोट गर्नेका लागि हाल भोटिङ चलिरहेको छ। भोटिङ कार्तिक चार (अक्टोबर २४ सम्म) गतेसम्म मात्र खुल्ला रहने छ। परियोजना निर्माण गर्ने नेपालस्थित प्रकृतिका साथीहरू नामक संस्थाले कास्की जिल्लाको मादी गाउँपालिकामा करिब तीन वर्षअघि क्यामरा ट्र्यापिङमा ध्वाँसे चितुवा देखिएपछि संरक्षणको पहल सुरु गरेको थियो।
दिनभर नदेखिने ध्वाँसे चितुवा रातमा मात्र देखिन्छ। विगतमा तीन पटकसम्म छनोट हुन नसकेको परियोजना यस पटक छनोटमा परेको संस्थाले जानकारी दिएको छ।
एसोसिएसनले हरेक छ महिनामा विश्वभरबाट संरक्षण परियोजनाको प्रस्तावना आह्वान गर्ने गर्छ। यसमा वन्यजन्तु, फोहोरमैला र पहाड वन शीर्षकको संरक्षणको मापदण्ड तोकिएको हुन्छ । त्यसभित्र परेपछि बल्ल अर्को छनोटका चरणमा प्रवेश गर्छ। त्यसबाट छानिएर नेपालको ध्वाँसे चितुवा संरक्षण परियोजना उत्कृष्ट पाँचमा पर्न सफल भएको संस्थाका कार्यकारी निर्देशक राजु आचार्यले जानकारी दिए। उनका अनुसार संस्थाले विगत १० वर्षदेखि ध्वाँसेबारे अनुसन्धान गरिरहेको थियो।
परियोजना छनोट भएमा ध्वाँसे चितुवाबारे जनतालाई जनचेतना गराउने,संरक्षणमा स्थानीयलाई संलग्न गराउने,वृक्षारोपण लगायतका काम गर्ने उनले बताए। नेपालको ध्वाँसे चितुवाबाहेक मेक्सिकोको मरुन फ्रन्टेड प्यारोट संरक्षण परियोजना, कोलम्बियाको वन हेरालु संरक्षण परियोजना, इक्वेडरको दस हजार वृक्षारोपण परियोजना र अर्मासनियाको मानव–भालु द्वन्द्व समाधान परियोजना उत्कृष्ट पाँचभित्र रहेको छ।
घना जङ्गलमा बस्ने राती मात्र बाहिर निस्कने ध्वाँसे चितुवा बिरालो वर्गमा पर्छ। यो अन्य चितुवाभन्दा निकै लजालु हुन्छ। यो प्रजाति रुखमा बस्ने सुत्ने गर्छ। भने बाँदर र दुम्सी मारेर खाने गर्छ। अहिलेसम्म संखुवासभा,कास्की,चितवन,नवलपरासी,रसुवा लगायतका ३२ स्थानमा ध्वाँसे चितुवा देखिएको छ। सन् २०१६ मा नेपाल सरकारले नेपालमा एक सय भन्दा कमको सङ्ख्यामा यो प्रजाति नेपालमा रहेको अनुमान गरेको छ ।
भोटिङका लागि तलको लिङकमा जानुहोला :