Sunday, September 22, 2024

‘थारु आलु’ पकेट क्षेत्र विस्तारका लागि अनुदान

भीमदत्तनगर-कैलाली र कञ्चनपुरमा ‘थारु आलु’ पकेट क्षेत्र विस्तारका लागि चालु आर्थिक वर्षमा किसानलाई रु ३० लाख अनुदान वितरण गरिने भएको छ ।

थारु आलु विस्तार गर्न यहाँका व्यावसायिक किसान छनोट गरी खेतीका लागि अनुदान उपलब्ध गराइने कृषि ज्ञान केन्द्र भीमदत्तनगरले जनाएको छ । थारु आलु पकेट क्षेत्रको अनुदानका लागि कैलाली र कञ्चनपुरबाट १६४ आवेदक किसानको छनोट गरिएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख रामचन्द्र भट्टले जानकारी दिए। “थारु आलुका लागि यहाँ व्यक्ति, फर्म र किसान समुह गरी २५० आवेदन परेको थियो”, उनले भने, “हामीले यहाँका सबै स्थानीय तह समावेश हुने गरी किसान छनोट गरेर प्रक्रिया अघि बढाएका छौँ ।”

रु ३० लाख अनुदान र रु ३० लाख नै किसानले लगानी गरेर रु ६० लाखको थारु आलु खेती विस्तार गर्ने योजना रहेको उनले बताए। “बीउ खरिद किसान आफैले गर्छन्”, भट्टले भने, “पहिले सम्झौता गछौंँ त्यसपछि अनुगमन गरी किसानको खातामै पैसा हाल्छौंँ ।” अन्य जातीका आलु मध्ये थारु जातको आलु स्वादिलो र मिठो हुने भएकाले पछिल्लो समय सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा थारु आलुको माग बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

थारु आलुको माग बढ्दै गएका कारण सरकारले आलु विस्तारका लागि किसानलाई अनुदान उपलब्ध गराउने योजना ल्याएको हो । कुनै समय उक्त आलु लोप हुने अवस्थामा पुगेको थियो । पछिल्लो समय यहाँका हाट बजारमा समेत थारु आलु उपभोक्ताको प्रमुख रोजाइमा पर्ने गरेको छ । “यो स्थानीय जात भएकाले पनि यसको प्रवद्र्धन र विस्तारका लागि किसानलाई सहुलियत दिनुपर्छ”, कृषि ज्ञान केन्द्रका भट्टले भने, “थारु आलु जिविकोपार्जनका लागि महत्वपूर्ण माध्यम बनेको छ ।” थारु आलु व्यावसायिक रुपमा कञ्चनपुरको दक्षिणी क्षेत्र र कैलालीमा बढी लगाउने गरिँदै आएको छ ।

यस्तै कैलाली र कञ्चनपुरका १२३ किसानलाई च्याउखेतीका लागि अनुदान रकम दिने प्रक्रिया अघि बढाइएको छ । च्याउ खेतीका लागि यहाँ रु १५ लाख बजेट आएको छ । च्याउ खेती रु ३० लाख बराबरको प्याकेज हो । पछिल्लो समय मुक्त कमैया, हलिया र विपन्न परिवारले च्याउ खेतीलाई आयआर्जनको माध्यम बनाएका छन् । चालु आर्थिक वर्षमा ज्ञान केन्द्रमा बगरखेती प्रवद्र्धन, प्रवल खेती विस्तार, कुरिलो खेती प्रवद्र्धन लगायतका शिर्षकमा बजेट आएको ज्ञान केन्द्रले जनाएको छ । तरकारी मिनी पटेक क्षेत्रका लागि रु ४० लाख, कञ्चनपुरको महाकाली नगरपालिकामा प्रवल खेती विस्तारका लागि रु पाँच लाख तथा कैलालीको चुरे गाउँपालिकामा कुरिलो खेती प्रवद्र्धनका लागि रु तीन लाख बजेट विनियोजन गरिएको बताइएको छ । रासस

ताजा समाचार

सम्बन्धित समाचार