Sunday, September 22, 2024

अझै अन्धकारमा चितवनको पुरानो सदरमुकाम

चितवन -देशकै सुगम जिल्लाको रूपमा परिचित छ । तर यही जिल्लाका बासिन्दा पनि बिजुलीको उज्यालोमा बस्न पाएका छैनन् । चितवनको पुरानो सदरमुकाम एवं ऐतिहासिक किल्ला उपरदाङगढीमा अझै बिजुली पुगेको छैन । हालको सदरमुकाम भरतपुरबाट करीब २५ किलोमिटरको दूरीमा रहेको इच्छाकामना गाउँपालिका–७ मा पर्ने उपरदाङगढीका नागरिक वर्षौदेखि टुकी र सोलार बाल्न बाध्य छन् ।

सडक सञ्जालले जोडिए पनि बिजुली लैजानका लागि अहिलेसम्म ठोस पहल हुनसकेको छैन । बत्ती नहुँदा दैनिक जीवनयापन सहज नभएको उपरदाङगढीका स्थानीयवासी गणेश थापाले बताए। उनले भने, “दुनियाँ विकासको चरणमा कहाँबाट कहाँ पुग्यो, हामी भने अझै अन्धकारमा बस्न बाध्य छौँ ।” पर्यटकीय क्षेत्र, ऐतिहासिक किल्ला र चितवनको पुरानो सदरमुकाम भनिए पनि राज्यबाटै उपेक्षामा परेको गुनासो गर्दै उहाँले विद्युत् नहुँदा उपरदाङगढी घुम्न आउने पर्यटकलाई आवश्यक सेवासुविधा दिन नसकिएको बताए।

“इच्कामना– ७ का अधिकांश क्षेत्रमा बिजुली बलेको छ तर उपरदाङगढीमा बिजुली ल्याउन बजेट छैन, हामी सक्दैनौँ वडाले भन्छ, गाउँपालिका अध्यक्षले छिट्टै आउँछ भन्ने आश्वासन दिनुहुन्छ”, थापाले भने । सोलारको व्याट्रीमार्फत मोबाइल चार्ज गर्ने गरेको बताउँदै उहाँले वर्षौँदेखिको बिजुली बाल्ने सपना जनप्रतिनिधि आएपछि पूरा हुने विश्वास गरेको बताए। गढी क्षेत्रका करीब एक सय घरमा बिजुली पुगेको छैन ।

इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीता गुरुङले उपरदाङगढीमा बिजुली पु¥याउनका लागि यस वर्षदेखि सर्भेको काम गरिने बताए। उनले भने, “पहिलो चरणमा तल्लो क्षेत्रमा बिजुली पु¥याउँछौँ, आगामी वर्षसम्म उपरदाङगढीमा पनि बिजुली पु¥याउने लक्ष्य छ ।” उनले भौगोलिक विकटता र बजेट अभावकै कारण अहिलेसम्म बिजुली पु¥याउन नसकिएको बताए। इच्छाकामना गाउँपालिकाका सबै वडामा बिजुली पुगे पनि सबै ठाउँमा पु¥याउन बाँकी रहेको उनको भनाइ छ । यस वर्ष इच्छाकामना गाउँपालिकामा बिजुलीका लागि रु छ करोड २० लाख बजेट विनियोजन भएको अध्यक्ष गुरुङले जानकारी दिए ।

इच्छाकामना गाउँपालिका–७ का वडाध्यक्ष बमबहादुर थापामगरले उपरदाङगढीमा बिजुली लैजान ढिलाइ भएको स्वीकार गरे। उनले यस वर्षदेखि प्राथमिकताका साथ काम गरिने बताए। घरधुरी कम भएका कारण पनि विद्युत् प्राधिकरणका तर्फबाट बिजुली लैजान आलटाल गरिएको उनको दाबी छ ।

प्रदेशसभा सदस्य घनश्याम दाहालले छिट्टै उपरदाङगढीमा बिजुली पु¥याउने प्रतिबद्धता जनाए। उनले अहिलेसम्म विविध कारणले बिजुली पु¥याउन नसकिएको भए पनि अब कुनै बाहानमा छुट नहुने बताए। प्रदेश सरकारका तर्फबाट पनि यसका लागि सक्दो पहल भइरहेको उनले जानकारी दिए।

सन् १९६० को दशकको शुरुसम्म उपरदाङगढी चितवनको सदरमुकाम रहेको थियो । विसं २०१६ सम्म महत्वपूर्ण सरकारी अड्डा र अदालत सबै यसै क्षेत्रमा रहेका थिए । ऐतिहासिक यो किल्ला चितवनको उत्तरी भागमा पर्ने तत्कालीन दाहाखानी गाविस र हालको इच्छाकामना गाउँपालिका–७ मा पर्छ । समुद्री सतहदेखि एक हजार २७५ मिटर उचाइमा पर्ने यो किल्ला तत्कालीन बाइसे–चौबिसे राज्य एकीकरणका बेला अङ्ग्रेज फौजविरुद्धको युद्धको दौरानमा नेपाली भूमिको रक्षाका लागि सन् १८०० को शुरुतिर पृथ्वीनारायण शाहका नाति तथा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले निर्माण गरेका थिए।
गढी सन् १८०० मा निर्माण भएको र सन् १९६० सम्म चितवनको सदरमुकाम रहेको पुरातत्व विभागले जनाएको छ । अहिले गढीमा ऐतिहासिक किल्ला, तोप हान्न बनाइएका नौ आकर्षक स्थान, कोतघर र विभिन्न मन्दिरको भग्नावशेष देख्न सकिन्छ । चारैतिर विशाल र ठूला कुँदिएका ढुङ्गाले बनेको पर्खाल हेर्दैमा आकर्षक देखिन्छ । अहिले दैनिक ४० देखि ५० पर्यटक गढी घुम्नका लागि जाने गरेका छन् ।

गढीबाट मनास्लु र अन्नपूर्ण हिमाल, प्राकृतिक दृश्यावलोकन र चितवनको समथर फाँट तथा निकुञ्जलाई राम्ररी नियालेर मनोरञ्जन लिन सकिन्छ । रासस

ताजा समाचार

सम्बन्धित समाचार