Sunday, September 22, 2024

शुक्लाफाँटा सुनसान

भीमदत्तनगर-चाडपर्व मनाउन काठमाडौँलगायत देशका विभिन्न भाग र विदेशबाट गृहजिल्ला कञ्चनपुर आएका स्थानीयवासी यतिबेला आँगनमै रहेको पर्यटकीय गन्तव्यस्थल शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको आवागमन सहज नहुँदा खिन्न छन् । बाह्रसिङ्गेको ठूलो झुण्डले प्रख्यात सो निकुञ्जमा आन्तरिक पर्यटकको चहलपहल बढ्ने बेला बिग्रेको सडक बनाउन र घाँसे मैदानको घास व्यवस्थापन नहुँदा अहिले यहाँ सुनसान भएकोे हो ।

जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटामा १६ पाटेबाघ, १७ गैँडा, ४०० भन्दा बढी प्रजातिका चराचुरुङ्गीसमेत अवलोकन गर्न पाइन्छ । उक्त निकुञ्जका रेञ्जर यम राउतले पर्यटकलाई आवागमन गर्न दिइए पनि वर्षात्का कारण बिग्रेको सडक बनाउन लागिपरेको बताए। “धान काट्ने बेला मजदूर पाउन पनि समस्या हुनाले सडक बनाउन ढिलो भयो”, उनले भने, “घाँस व्यवस्थापनको समय अब हुँदैछ तर पनि दैनिक चार÷पाँच गाडीमा पर्यटक निकुञ्ज प्रवेश गरिरहेका छन् ।”

पर्यटन व्यवसायी परमानन्द भण्डारीले शुक्लाफाँटाभित्रको घाँस व्यवस्थापन नहुने भएकाले अहिलेको याममा जनावर देख्न समस्या हुने बताए । “चैत, वैशाखको जस्तो फाँटभरि जनावर देख्न अहिले अलि कठिन हुन्छ” उनले भने निकुञ्जमा हरेक वर्षात्का बेला करीब तीन महीना आवागमनमा समस्या हुने गरेको छ । निकुन्जमा पछिल्ला वर्षमा पर्यटकको आवागमन बढे पनि समयमै घाँस व्यवस्थापन गर्न चाँसो दिइँदैन । उक्त निकुन्जको पिपरियास्थित हात्तीसारका साथैे बेदकोट ताल, लिङ्गेश्वर, झिलमिला तालमा भने पर्यटकको आकर्षण बढिरहेको छ । रासस

ताजा समाचार

सम्बन्धित समाचार