Monday, November 25, 2024

चाडपर्वमा तडकभडक नगर्न प्रम ओलीकाे अपिल

काठमाडौँ— प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिसँगै सभ्य र सुसंस्कृत समाज निर्माणमा सबै अग्रसर हुनुपर्ने बताएका छन्। वडादशैंको अवसरमा  एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

प्रम ओलीले नेपालीहरु राजनीतिक अधिकार प्राप्तिको आन्दोलन सकेर समृद्धिको यात्रामा रहेको स्मरण गराए। ‘यस यात्रामा हामीले समृद्धिसँगै समाजलाई सभ्य, शान्तिपूर्ण, मानवतापूर्ण, मित्रतापूर्ण, सुसंस्कृत र शिक्षित समाजका रुपमा विकास पनि गर्नुछ । यसमा हामी सबैको ध्यान जान उत्तिकै जरुरी छ,’ ओलीले भनेका छन्, ‘हामी समृद्ध नेपाल, सुखी नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानका छौँ । यस अभियानमा यो दशैंले हामी सबैमा प्रेरणा पनि दिन सकोस् ।’

प्रधानमन्त्री ओलीले दशैं मनाइरहँदा स्वास्थ्य, मित्रता,सामाजिक शान्तिलाई विशेष ध्यान दिनुपर्ने उल्लेख गरेका छन्। सन्देशमा प्रधानमन्त्री ओलीले चाडपर्वमा आफूले गर्ने व्यवहारका कारण कसैलाई पनि प्रतिकूल असर पार्नु नहुने कुरामा बिशेष जोड दिएका छन्। ‘छिमेकीलाई प्रतिकूल असर नपरोस् भनेर ध्यान दिने, परिवार, छिमेक र आफन्तमा आपसमा स्नेह, माया ममता र सद्भाव फैलियोस् भन्ने तर्फ सबैको ध्यान हुनु जरुरी छ, उनले भनेका छन्, ‘यस चाडले हाम्रो सामाजिक सुसम्बन्ध र सुप्रबन्धमा जसरी विगतदेखि योगदान गर्दै आएको छ, त्यो योगदान गर्दै जाओस् र जान सकोस् भन्ने कुरामा ध्यान दिन जरुरी छ ।’

प्रधानमन्त्री ओलीले चाडहरु बढी खर्चालु नबनाउन सबैलाई आग्रह गरेका छन्। ‘हामी आफ्नो गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त होऔँ । यसमा पनि ध्यान दिन जरुरी छ, ‘ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हामी नेपालीहरुको महान र परम्परागत चाड वडादशैंका उपलक्ष्यमा देशभित्र र देश बाहिर रहनुभएका सबै दाजुभाई दिदीबहिनीहरुमा हार्दिक एवं मंगलमय शुभकामना व्यक्त गर्दछु ।’

ताजा समाचार

सम्बन्धित समाचार