Sunday, September 22, 2024

अस्थायी बसपार्कको ढलान राेकेकाेमा मेयर शाक्यको असन्तुष्टि

ललितपुर—काठमाडौैँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले धुलोमुक्त शहरका लागि खुलामञ्चस्थित अस्थायी बसपार्कमा अस्थायीरुपमा शुरु गरिएको कालोपत्रमा अवरोध गरिएकाेमा दुःख व्यक्त गरेका छन्।

उनले त्यस क्षेत्रमा अत्यधिक धुलो उडेको र आफ्नो धुलोमुक्त काठमाडौँको अभियान जारी रहेको स्थितिमा त्यहाँ कालोपत्र र ढलानको काममा जनप्रतिनिधिकै उपस्थितिमा अवरोध हुनु दुःखद भएको बताएका हुन्।

सांसद भीमसेनदास प्रधान, काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी र वडा नं २८ का वडाध्यक्ष भाइराम खड्गीको उपस्थितिमा आइतबार त्यहाँको काममा अवरोध भएको थियो ।।

“हामीले त्यहाँ स्थायी संरचना बनाउन खोजेका होइनौँ, हामी अहिले होइन पहिलादेखि नै त्यो अस्थायी बसपार्क हो भनिरहेका छौँ”, डेङ्गुको आशङ्कामा अस्पतालमा उपचाररत प्रमुख शाक्यले भने,मैले उपप्रमुखसँग सल्लाह गरेर नै त्यहाँ अस्थायी रुपमा कालोपत्रको प्रक्रिया अघि बढाउन भनेको हुँ ।”

शाक्यले धुलोमुक्त काठमाडौँ अभियानमा आफू निरन्तर लागिरहेको भन्दै महानगरको फोहर र धुलोमा राजनीति गर्ने गरेका कारण समस्या भएको बताए। “हामीले महानगरभित्रका सडक जति नै सफा र चिल्ला बनायौँ भने पनि बसपार्कबाट निस्कने धुलो र हिलोका कारण ती सडकको अवस्था उस्तै हुन्छ”,  उनले भने, “हामीले त्यही भएर अस्थायी रुपमा त्यहाँ कालोपत्र गर्नु भनेका हौँ । तर, माननीयज्युहरुले विषयवस्तुलाई अन्तै लगेर त्यहाँ अवरोध गर्नुभएछ । त्यो राम्रो होइन ।”

उनले अहिले महानगरपालिकाकै पहलमा तीनकुनेमा पनि आइल्यान्ड बनाउने काम भइरहेको भन्दै अन्य ठाउँको पनि सजावटको काम अघि बढेको बताए। “तीनकुनेमा पनि हामीले अस्थायी रुपमै आइल्यान्ड बनाएका हौँ”, उनले भने, “विदेशी पाहुना आउँदा मात्र होइन हामीले दैनिक ओहोर–दोहोर गर्दा पनि त्यहाँ हिलो र धुलोको सामना गर्नुपर्ने हुन्थ्यो । कम्तीमा पनि त्यहाँ आइल्यान्ड बनेपछि हेर्न लायकको हरियाली बन्नेछ । फेरि विदेशी पाहुना आउँदै पिच्छे कहिले टिनका जस्ता त कहिले फ्लेक्सले छोप्नुपर्ने बाध्यता पनि हटेको छ ।” रासस

ताजा समाचार

सम्बन्धित समाचार