Sunday, September 22, 2024

सरकारलाई निर्देशन: भ्रमण वर्ष अघि नै कोरला नाका खुलाउनू

काठमाडाैँ—संसद्को विकास तथा प्रविधि समितिले चीनसँग सीमाना जोडिएको उपल्लो मुस्ताङको कोरला नाका खुलाउन सरकारलाई निर्देशन दिएको छ। साे नाका पुग्ने बेनी–जोमसोम–कोरला सडकखण्डको स्थलगत निरीक्षण गर्न पुगेकाे समितिकाे टाेलीले  ‘नेपाल भ्रमण वर्ष–२०२०’ अघि नै नाका खुलाउने गरी सडकलगायतका पूर्वाधार निर्माणको काममा तीव्रता दिन सरकारलाई निर्देशन दिएको हो।

समितिका सभापति कल्याणी खड्काले ‘नेपाल भ्रमण वर्ष–२०२०’ अघि नै यो नाका खुलाउने गरी पूर्वाधार निर्माणको कामलाई तीव्रता दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको जानकारी दिइन्।

समितिले ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीलाई कारवाही गर्न पनि सरकारलाई निर्देश गरेको छ । त्यसैगरी सो सडकखण्ड निर्माणका लागि विष्फोटक पदार्थको तत्काल व्यवस्था गरिदिन पनि सरकारलाई निर्देशन दिनुपर्ने अवस्था देखिएको पनि स्थलगत भ्रमणका क्रममा समितिका सभापति खड्काले बताइन्।

राष्ट्रिय गौरवको यो आयोजनालाई सरकारले उच्च प्राथमिकता दिन नसकेको समितिको बुझाइ रहेको छ । संसदीय समितिले सो सडकखण्डमा पर्ने पुल निर्माणका लागि हालसम्म डिजाइनको कामसमेत नभएकोमा पनि असन्तुष्टि जनाएको छ । समितिले एक हप्ता अघि बेनी–जोमसोम–कोरला सडकको स्थलगत अनुगमन गरेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार