सडकमा यात्रु अलपत्र, खोई वैकल्पिक व्यवस्था ?

-खेमा बस्नेत

                                                                                                         तस्वीरहरु अमिष रेग्मी

काठमाडौं– सरकारको सिन्डिकेट अन्त गर्ने निर्णयको जनताले स्वागत गरेका छन् । तर सरकारले यस अगाडि घोषणा गरे अनुसारको वैकल्पिक व्यवस्था गर्न नसक्दा यात्रुले दुःख पाइरहेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारबाट विसं २०७४ चैत १८ मा जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै आज देशभरका यातायात सञ्चालन गरेको छैन् । यसरी यातायात व्यवसायीहरुले गरेको यातायात बन्दका कारण उपत्यकालगायत देशभरको जनजीवन प्रभावित भएको छ ।

बिरामी आमालाई लिएर धनगढीबाट काठमाडौं आउन लागेका रोशन खड्का धनगढी बस पार्कबाट निरास हुँदै फर्किए ।

‘आमालाई उपचार गर्न काठमाडौं जान आएको तर गाडी बन्द रैछ’,उनले भने ‘हामी जस्ता यात्रुहरुलाई सरकारले वैकल्पिक व्यवस्था गरी सम्बन्धी ठाउँमा पु¥याउने व्यवस्था गर्नुपर्छ ।’उनले सरकारले सिन्डिकेट अन्त्य गर्ने निर्णय भने स्वागत योग्य भएको बताए ।

ललितपुर भैसीपाटीकी प्राप्ती खड्का बस नचल्दा हिँडेरै लगनखेलस्थित अफिस पुगिन् । सरकारले गरेको निर्णय प्रशंसा योग्य भएपनि गाडी नचल्ला आफु जस्ता यात्रुहरुले दुःख पाइरहेको उनको भनाई छ ।

‘यातायात व्यवसायीहरुले गाडी बन्द गर्ने निर्णय सँगै सरकारले यात्रुहरुलाई मर्का नपरोस् भनेर वैकल्पिक व्यवस्था गर्नुपर्छ’,उनले भनिन् ।

कालिमाटिका सुनिल पाण्डे पनि आज गाडी नचल्दा हिडेरै पाटन अफिस पुगे । ‘सरकारको सिन्डिकेट अन्त्य गर्ने निर्णय राम्रो लागेको छ । यसरी गाडी नचलाएर यात्रुहरुलाई दुःख दिने यातायत व्यवसायीहरुलाई सरकारले कारवाही पनि गर्नुपर्छ’,उनले भने ‘यस्तो अवस्थामा सरकारले यात्रुहरुका लागि वैकिल्पक व्यवस्था भने गर्नुपर्छ ।’

यातायात व्यवस्था विभागका निर्देशक तुल्सिराम अर्यालले जनताले दुःख नपाओस् भनेर कम्पनीमा दर्ता भएका गाडीहरु देशभर नै सञ्चानलमा रहेको जानकारी दिए ।

‘प्रालीमा दर्ता भएका सबै गाडीहरु देशभर सञ्चालनमा छन्’,उनले भने ‘हिजो विभागमा बसेको बैठकले प्रालीमा दर्ता भएका गाडीहरु सञ्चालन गर्ने सहमती भएअनुसार गाडी चलिरहेका छन् ।’

निर्देशक अर्यालले गाडी नचलाउने व्यवसायीको रुट पर्मिट खारेज गरिने छ र त्यसका लागी काठमाडौं लगायतका विभिन्न जिल्लामा गाडी नचलाउनेको तथ्यांक संकलन भइरहेको बताए ।

त्यस्तै सरकारले अकस्मात् ढंगले निर्देशिका जारी गरेको भन्दै आफूहरुले सवारी संचालन बन्द गर्नुपरेको महासंघले बताएको छ । महासंघले आफ्ना माग सुनुवाइ नभए चरणबद्ध आन्दोलन गर्नेसमेत सरकारलाई चेतावनी दिएको छ ।

अर्कोतिर कम्पनीमा आवद्ध साझा, मयुर, महानगर लगायत अन्य माइक्रो बसहरुले सवारी सञ्चालन गरेका छन् । तर त्यो पर्याप्त छैन् । यात्रुहरु सडकमा गाडी कुरिरहेका देखिन्छन् ।

महासंघअन्तर्गत अहिले देशभरका ३०५ समितिमा झण्डै चार लाख सार्वजनिक यातायात सञ्चालनमा छन् ।

तीन वर्ष अगाडीको नाकावन्दीको समयमा जस्तै निजी गाडी र मोटरसाइकलहरुले यात्रुलाई लिफट् दिईरहेका छन् तर त्यो पनि पर्याप्त छैन् ।  विशेषत सिन्डिकेट अन्त गर्नुपर्छ भन्नेमा आम समर्थन नै रहेको छ तर त्यसलाई कार्यान्वयन गर्नका लागि सरकारले पर्याप्त तयारी गरिरहेको छ कि छैन भन्ने सर्वत्र चासो देखिन्छ । तत्कालका लागि सरकारले वैकल्पिक यातायातका साधनहरुको व्यवस्थापन गर्नुपर्ने आवाज सर्वत्र छ नत्र सर्वसाधारणले ठूलो दुःख पाउने संकेत देखिएको छ ।

सरकारको हालको प्रायास सफल नभएमा सिन्डिकेटवालाहरु झनै वलियो हुने भएकाले सरकारले जसरी यो निर्णय लागु गर्नुपर्ने माग सर्वत्र छ । विवेकशील साझा पार्टीका प्रवक्ता तथा इन्जिनियर जयराज आचार्य आफ्नो ट्वीटमा लेख्छन, ‘लौ हेर, सिन्डिकेटको जरो त स्कुल बस सम्म पनि रहेछ । वस नआएर स्कुल बन्द ! ‘सिन्डिकेट नियन्त्रण गर्न लागेर सरकार बाघको घोडा चढ्यो’ भन्ने कतै सुनेको थिएँ । त्यसो हैन सरकार घोडाकै घोडा चढेको हो, सिर्फ लगाम लगाउन जरुरी छ । मौका छ, सरकार नचुकोस, सबैको साथ छ ।’

उत्तमबावु श्रेष्ठ आफ्नो ट्वीटमा लेख्छन, ‘यातायता सिन्डिकेट तोड्ने सरकारको हालको प्रयास सफल भएन भने सिन्डिकेटवाहरु झनै वलियो हुनेछन् । सरकारले जितइो भने अन्य क्षेत्रको सिन्डिकेट तोड्न पनि सजिलो हुनेछ । त्यसैले इतिहासकै वलियो भनिएको सरकार सिन्डिकेटवालासँग झुक्नै हुँदैन ।’

उनी अगाडी लेख्छन, ‘सार्वजनिक सवारी साधनमा निजि भन्दा सरकारी नियन्त्रण ठीक तर विजुली, टेलिफोनमा भने निजि नै ठिक भन्ने कुरा विकसित देशहरूमा लामो समयसम्म गरिएको प्रयोगको निचोड हो । अमेरिकामा विजुलीरटेलिग्राम आविश्कार भए पश्चात त्यसलाइ सरकारले लिएर चलाउँदा विकास नै भएन र निजीलाइ दिइयो ।’