Monday, September 23, 2024

बीउ प्रशोधन गृह सञ्चालन

लमही- रुकुमेली एग्रो सीड सेन्टरले तुलसीपुर–६ राजापुरमा बीउ प्रशोधन गृह स्थापना गरी सञ्चालनमा ल्याएको छ । उक्त प्रशोधन गृहको उद्घाटन किसानका लागि उन्नत बीउबिजन कार्यक्रमका कार्यक्रम प्रबन्धक कौशलकुमार पौडेलले आइतबार गरे।

गुणस्तरीय बीउ उत्पादन प्रशोधन गरी किसानलाई जिल्लामै गुणस्तरीय बीउ उत्पादन गरी बजारीकरण गर्ने उद्देश्यले बीउ प्रशोधन गृह सञ्चालन गरेको रुकुमेली एग्रो सीडका अध्यक्ष निर्मलकुमार आचार्यले जानकारी दिए। नेपाल सरकार कृषि विकास मन्त्रालय किसानका लागि उन्नत बीउबिजन कार्यक्रम तरकारी बीउ प्रशोधन तथा बजारीकरण उपआयोजनाको ५० प्रतिशत सहयोग र संस्थाको ५० प्रतिशत लगानीमा बीउ प्रशोधन गृह सञ्चालनमा आएको हो । रु तीन करोड लागतमा सो आयोजना सञ्चालनमा ल्याएको बताइएको छ ।

सञ्चालक माधव केसीले विभिन्न ठाउँमा छरिएर रहेका एग्रोभेट व्यवसायीलाई समेटी २०६९ सालदेखि रुकुमेली एग्रोसिड सेन्टर सञ्चालन गर्दै आएको र गुणस्तरीय बीउ, उत्पादन प्रशोधन, प्याकेजिङ तथा बजारीकरण गर्दे गुणस्तरीय बीउ स्रोत केन्द्रको रुपमा विकास गर्दै अघि बढेको बताए। हालसम्म सेन्टरले रुकुम, सल्यान, रोल्पा, दाङ जिल्लामा रहेका कृषक समूह, सहकारीले उत्पादन गरेका खाद्यान्न तथा तरकारीको बीउ खरीद गरी दाङ ल्याउने र प्रशोधन केन्द्रबाट बजारीकरण गर्ने बताएको छ ।

कार्यक्रममा नेपाल सरकार कृषि विकास मन्त्रालय किसानका लागि उन्नत बीउबिजन कार्यक्रमका प्रबन्धक पौडेलले बीउ जैविक चिज भएको भन्दै, यसलाई संरक्षण गरेर उत्पादनमा ल्याउनुपर्ने बताए। प्रशोधन केन्द्रबाट किसानलाई गुणस्तरीय बीउ दिनसके स्थानीयस्तरबाटै उत्पादनलाई बढाउन सकिने उहाँको भनाइ थियो । रासस

ताजा समाचार

सम्बन्धित समाचार