Monday, September 23, 2024

आफूखुशी मूल्य बढाए कारवाही गरिने

भद्रपुर -मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले चाडपर्वको मौका छोपेर दैनिक उपभोग्य वस्तुको मूल्य बढाएमा उद्योगी व्यवसायीलाई कारवाही गरिने जानकारी दिएका छन्। नगरका विभिन्न उद्योगी, व्यवसायी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीसहितको मङ्गलबार आयोजित अन्तरक्रियामा उहाँले सर्वसुलभ मूल्यमा गुणस्तरीय खाद्य वस्तु नगरवासीलाई उपलब्ध गराउन व्यवसायीलाई सुझाव दिए।

कालोबजारी सिर्जना गरेर कुनै उद्योगी व्यवसायीले अतिरिक्त लाभ लिन खोजे कानूनअनुसार स्थानीय सरकारले कारवाही गर्ने उनले बताए। उनले भारतबाट मासु तथा मासुजन्य वस्तुको आयातमा नेपाल सरकारले रोक लगाएका कारण त्यसको आयात शून्यमा झार्न स्थानीय प्रहरी, प्रशासन, व्यवसायी सबै एक भएर लाग्न आग्रह गरे।

उपप्रमुख मीना पोखरेल उप्रेतीले चाडपर्वको मौका छोपेर कारोवारीले सर्वसाधारणलाई ठग्ने प्रवृत्ति बढ्ने हुँदा यसलाई निरुत्साहित पार्न स्थानीय सरकारले बजार अनुगमनलाई तीव्र पारेको जानकारी दिए। उनले चाडपर्वका बखत खरीदकर्ताको भीडभाड निक्कै ठूलो हुने भएकाले कारोवारीले हरेक वस्तुमा आफुखुशी मूल्यवृद्घि गर्ने परम्पराको अन्त्य गर्न पनि यस्ता बेलामा अनुगमन बाक्लो हुने गरेको जानकारी गराए।

मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषि तिम्सिनाले हरेक उद्योगी व्यवसायीले आफ्ना फार्म सम्बन्धित कार्यालयमा दर्ता गर्नु पहिलो प्राथमिकता रहेको बताए।रासस

ताजा समाचार

सम्बन्धित समाचार