Monday, September 23, 2024

बन्दा तालमा विश्वकै दुर्लभ चरा राजधनेश र राजलाहाचे

कैलाली– कञ्चनपुर जिल्लाको ब्रह्मदेव जैविकमार्गमा अवस्थित बन्दाताल क्षेत्रमा विश्वकै दुर्लभ चरा राजधनेश र राजलाहाचे फेला परेका छन्।

युएनडिपी साना अनुदान कार्यक्रमको सहयोगमा नेपाल पन्छी संरक्षण संघ र नेपाल ग्रामीण विकाश केन्द्रले हालै गरेको पन्छी सर्वेक्षणमा लोपोन्मुख पन्छी राजधनेश र राजलाहाचसहित ८८ प्रजातिका चराहरू फेला पारेका हुन्।

नेपाल पन्छी संरक्षण संघका जीव विज्ञ हिरुलाल डगौराका अनुसार अंगे्रजीमा गे्रट हर्नबिल भनिने हेलमेट जस्तो रङ्गीन शिर भएको राजधनेश अन्य धनेसहरू मध्ये सबैभन्दा ठुलो धनेस हो। प्राय जसो सानो–सानो झुन्डमा देखिने यो पन्छी हेर्दा निकै सुन्दर र आकर्षक हुन्छ। हाल नेपालमा राजधनेशको सङ्ख्या १ सय ५० भन्दाकम रहेको अनुमान गरिएको उनले बताए।

नेपालको वन्यजन्तु संरक्षण ऐनद्वारा संरक्षित ९ पन्छी मध्ये राजधनेशपनि एक हो । राजधनेशलाई साइटिस अनुसूची–१ मा सूचीकृत गरिएको छ।

गुँड निर्माण र ओथारोप्रक्रियामा रोचक र अनौठो स्वभाव देखाउने राजधनेशले ठुला र बुढा रुखको टोड्कोमा गुँड बनाई वर्षा याममा प्रजनन गर्छ। राजधनेशको भालेले पोथीलाई अण्डा पारे पछि बच्चा नहुर्कुन्जेलसम्म टोड्कोमा रहेको गुँडमा नै थुनेर राख्छ। धनेस दम्पतीले हिलो र पोथीको विष्टाको सहयोगमा टोड्काको मुख पुरै टाल्छन् र त्यसमा बनाइएको सानो प्वालबाट पोथीले हावा र आहारा लिने गर्छे। ओथारो अवधि भर पोथीलाई र तत्पश्चात् बच्चालाई पनि भालेले नियमितरुपमा बाहिरबाट आहारा खुवाउने गर्छ।

प्रकृतिमा भएका कतिपय हानिकारक फट्याङ्ग्रा, मुसा तथा छिपकलीहरु खाई राजधनेशले पर्यावरणीय सन्तुलन तथा खाद्य चक्र गतिशील राख्नमहत्वपुर्ण भुमिकानिर्वाह गर्छ। विभिन्न बिरुवा तथा फलफुलको विऊविस्तार र वितरणमा उल्लेख्य योगदान पु¥याउने हुँदा एसलाई जंगलको किसान पनि भनिन्छ। खास किसिमको वासस्थानमा मात्र पाइने यो चरा त्यस्ता क्षेत्रहरूको वातावरणीय सूचक पनि मानिने नेपाल पन्छी संरक्षण सङ्घका विज्ञ कृष्ण भुसालले बताए।

त्यस्तै राजलाहाचे चरा पनि लाहचे मध्येको सबैभन्दा ठुलो हो र यसलाई स्वस्थवनको सूचकको रूपमा लिइन्छ । समुन्द्र सतहबाट ३ सय मिटरको उचाइ सम्म पाइने राजलाहाचेको सङ्ख्या नेपालमा २ सय ५० भन्दा कम रहेको अनुमान गरिएको छ। पछिल्ला दशकहरू मानव विनाश र अतिक्रमणले ठुला र पुराना रुखहरूको अभावमा राजधनेश र राजलाहाचेको सङ्ख्या दिनानुदिन घटिरहेको विज्ञहरू बताउँछन्।

पछिल्ला दशकहरूमा खास गरी मानवीय क्रियाकलापहरूको परिणाम स्वरूप वासस्थान संकुचन तथा विनाश, वन फँडानी र अतिक्रमण, वन डढेलो, घाँसे मैदानको नाश, अवैध चरा सिकार तथा व्यापार, रासायनिक मल र विषादीको बढ्दो प्रयोग, बदलिँदो तापमान र मौसम परिवर्तन जस्ता कारणहरूले थुप्रै प्रजातिका चराहरूले सङ्कट झेलिरहेका छन्।

हालसम्म नेपालबाट आठ प्रजातिका चराहरू लोप भैसकेका छन् भने विश्वमै दुर्लभ मानिएका ४४ प्रजाति र १ सय ६८ प्रजातिका चराहरू राष्ट्रिय रूपमा संकटासन्न अवस्थामा रहेको भुसालले बताए। नेपालमा वासस्थान विनाश नै चराहरूको लागि मुख्य खतरा हो जसको कारण ८६ प्रतिशत चराहरू संकटापन्न अवस्थामा पुगेका छन्।

दुइवर्ष अगाडी सुरु गरेको बन्दाताल र त्यस क्षेको जैविक विविधता संरक्षणको सकारात्मक प्रभाव र नतिजा देखिन थालेको संयुक्त राष्ट्र सङ्घ विकास कार्यक्रम,साना अनुदान कार्यक्रमका सहायक राष्ट्रिय संयोजक विवेक शर्माले बताए।

ताजा समाचार

सम्बन्धित समाचार