लमजुङ– लमजुङ र हिमाली जिल्ला मनाङबीचको एक मात्र बेँसीशहर–चामे सडक खुलेको छ। नासो गाउँपालिका–१ तालस्थित म्यार्दीभीरमा पहिरो जाँदा अवरुद्ध भएको करीब १७ दिनपछि शनिबार साँझबाट यस सडकखण्ड खुलेको हो।
करीब १०० मिटर माथिबाट आएको ठूला–ठूला ढुङ्गासहितको पहिरोले अवरुद्ध बनाएको सडक १० दिनको प्रयासपछि खुल्न सफल भएको छ। पहिरोले १२० मिटर सडक नै भत्काएपछि तत्काल सडक खुलाउने प्रयास गरिए पनि ठूला–ठूला ढुङ्गा हटाउन र फोर्न नसकिएपछि ८० वटा बम ब्लाष्ट र ब्रेकर लगाएर सडक सञ्चालन गर्न सफल भएको सडक डिभिजन कार्यालय दमौलीले जानकारी दिएको हो।
पहिलाको सडक नै पत्ता नलाग्ने गरी सडक भत्किएपछि पहिलाको भन्दा फरक ‘ट्र्याक’ खोलेर सडक निर्माण तथा मर्मत गरिएको छ।
सडक डिभिजन कार्यालयले सडक सञ्चालन गर्न सफल भएपनि लमजुङ र मनाङको सिमानामा रहेको म्यार्दी खोलामा पुल निर्माण सम्पन्न हुन नसक्दा खोलाबाट साना सवारी साधन तर्न नसकेको र ट्रक, ठूला ट्र्याक्टर मात्रै खोलाबाट तर्न सकेको बताइएको छ। म्यार्दीखोलामा पानी नघटेको र आकाशबाट पानी बेला–बेला पर्ने गरेकाले खोलामा पानीको प्रवाह बढिरहेकाले साना सवारी साधन खोला तर्न सक्ने अवस्था नहुँदा यात्रुलाई समेत समस्या हुने भएको छ। बेँसीशहरदेखि चामेसम्म ६५ किलोमिटर लामो दूरी छ।
यस सडकमा दैनिक यात्रु बोक्ने ३५ सवारी साधन आवतजावत गर्ने गर्दछन्। म्यार्दीखोलामा निर्माणाधीन मोटरेबल पुल केही दिनमा निर्माण सम्पन्न हुने र सो पुलबाट सवारी साधन गुड्न थाल्ने सडक डिभिजन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार पुलको ‘एम्प्रोज रोड’ को केही भाग मात्रै निर्माण सम्पन्न गर्न बाँकी छ।





