सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा २४ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको पुष्टि गरिएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार कैलालीमा १५, दार्चुलामा पाँच अछाममा दुई, कञ्चनपुरमा एक र डोटीमा एक जनामा सो रोग भेटिएको हो ।
उक्त रोगको सङ्क्रमणले डोटीमा एकको मृत्यु भइसकेको छ । दिपायल सिलगढी नगरपालिका–६ थाप्लाका छत्र मलासी ‘छाया’ को उक्त रोगले कैलालीमा उपचारका क्रममा मृत्यु भएको हो । डोटीमा डेङ्गुका बिरामीलाई उपचारार्थ काठमाडौँ लगिएको जिल्ला अस्पताल डोटीका डा गिरिष अवस्थीले बताए । उनले भने, “ जिल्लामा जाच्दा रोग पत्ता लाग्न नसकेर कैलाली पठायौँ, त्यहा डेङ्गु देखिएपछि थप उपचारका लागि काठमाडौँ लगिएको छ ।”
डेङ्गु नियन्त्रण गर्न सुदूरपश्चिम प्रदेश सरकारले पाँच जिल्लामा अभियाननै सञ्चालनको तयारी गरेको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले जानकारी दिए । बिहान र साँझमा डेङ्गु फैलाउने लामखुट्टेले टोक्ने भएकाले त्यति बेला सावधानी अपनाउन जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा भूषण मिश्रले सुझाव दिए ।
पहिलोपटक चितवनमा भेटिएको डेङ्गु सुदूरपश्चिमका कैलाली, अछाम, कञ्चनपुर, दार्चुला र डोटीमा देखा परेकाले सावधानी अपनाउनु पर्ने सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।





