संरक्षित क्षेत्रका ४ सय ९९ वन्यजन्तुको मृत्यु

काठमाडौँ– नेपालमा आर्थिक वर्ष २०७५/०७६ मा विभिन्न संरक्षित क्षेत्रका कुल ४ सय ९९ वटा वन्यजन्तुको मृत्यु भएको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार प्राकृतिक कारणले २ सय ३५ वटा, चोरी शिकारबाट ३ वटा र अन्य कारणले २ सय ६१ वटा वन्यजन्तुको मृत्यु भएको हो।

जसमध्य गैँडा प्राकुतिक कारणले ४२ वटा र अन्य कारणले ७ वटा गरी ४९ वटाको मृत्यु भएको विभागले जनाएको छ।

त्यसैगरी, बाघ प्राकृतिक करणले ११ वटा, चोरी शिकारीबाट १ वटा र अन्य कारणले ४ वटा गरी जम्म १६ वटाको मृत्यु भएको हो।

हात्ती प्राकृतिक कारणले ५ वटा र अन्य कारणले १ वटा गरी ६ वटा, चितुवा प्राकृतिक कारणले २३ वटा र अन्य कारणले १४ वटा गरी ३७ वटाको मृत्यु भएको छ। हिउँ चितुवा, र कस्तुरी मृग अन्य कारणले ४/४ वटा गरी ८ वटाको मृत्यु भएको छ।

यसैगरी जरायो, चित्तल, लगुना, बँदेल, घडियाल र अन्य वन्यजन्तु प्राकेतिक कारणले १ सय ५४ वटा, चोरीशिकारीबाट २ वटा र अन्य कारणले गर्दा २ सय २७ गरी ३ सय ८३ वटाको मृत्यु भएको छ।

साथै ६ सय ६१ वटा वन्यजन्तुको उद्दार गरिएको छ भने वन्यजन्तु लगाएत अन्य घटनामा ३ हजार ९ सय ३४ जना मानिसहरूलाई पक्राउ गरी अनुसन्धान भइरहेको विभागले जनाएको छ।

विभागका अनुसार गत आर्थिक वर्ष २०७४/०७५ मा ३ सय ९१ वटा वन्यजन्तुको मृत्यु भएको थियो ।
उक्त अवधिमा १ सय १ वटा कृष्णसार, ८२ वटा चित्तल, ३० वटा गैँडा, ११ वटा अर्ना, ११ वटा चितुवा, ८ वटा बाघ, ४ वटा हात्ती र ६ वटा जरायोको ज्यान गएको हो। यस अवधिमा सबैभन्दा धेरै कृष्णसार संरक्षित क्षेत्र ९३ र बाँके राष्ट्रिय निकुञ्जमा ९१ वटा वन्यजन्तुको मुत्यु भएको तथ्यांक छ।

चितवन राष्ट्रिय निकुञ्जमा बाघ, गैँडा,अर्नासहित ५९ वटा, बर्दिया राष्ट्रिय निकुञ्जमा गैँडा,बाघ, हात्तीसहित ७१, पर्सा राष्ट्रिय निकुञ्जमा चितुवा, बँदेलसहित ११, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कृष्णसार, चित्तलसहित २४ वटा वन्यजन्युको मृत्यु भएको विभागको तथ्यांक छ।

त्यसैगरी रारा राष्ट्रिय निकुञ्जमा हाब्रेसहित ३, कोशीटप्पु आरक्षमा अर्ना हात्तीसहित २२, मकालु वरुण राष्ट्रिय निकुञ्जमा २ र सगरमाथा राष्ट्रिय निकुञ्जमा ४ वटा वन्यजन्तुको मुत्यु भएको छ। आर्थिक वर्ष २०७३(०७४ मा विभिन्न संरक्षित क्षेत्रमा कुल ३ सय २६ वटा वन्यजन्तुको मुत्यु भएको थियो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ का उपदफा (२) मा संरक्षित वन्यजन्तु मार्ने वा घाइते बनाउनेलाई १ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिवाना वा १ वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।

त्यस्तै, संरक्षित वन्यजन्तु बाहेक अन्य वन्यजन्तु मारेमा वा घाइते बनाएमा २० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँ सम्म जरिवाना वा ६ महिनादेखि १ वर्षसम्म कैद वा दुवै सजायको व्यवस्था रहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार