भरतपुर अस्पताललाई डेङ्गु परीक्षण किट प्रदान

चितवन– भरतपुर महानगरपालिकाले भरतपुर अस्पताललाई बिहिबार एक हजार डेङ्गु परीक्षण किट हस्तान्तरण गरेको छ । महानगर प्रमुख रेनु दाहालले अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीलाई किट हस्तान्तरण गरेकी हुन्।

जिल्लामा डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि परीक्षणका लागि किट अभाव देखिएसँगै अस्पताललाई महानगरले किट हस्तान्तरण गरेको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार साउनयता पाँच हजार ३१ जनाको परीक्षण गरिएकोमा एक हजार ५८५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार भेटिएका सङ्क्रमितमध्ये एक हजार ३१७ जना चितवनका रहेका छन् । तीमध्ये भरतपुर महानगरपालिकाका सबैभन्दा धेरै एक हजार १८४ जना रहेका छन् । डेङ्गुकै कारण यस अवधिमा दुई जनाको मृत्यु भइसकेको छ ।

किट हस्तान्तरण कार्यक्रममा महानगर प्रमुख दाहालले डेङ्गु नियन्त्रणको काम एक्लो प्रयासले सफल नहुने बताए । अहिले महानगरको शहरी क्षेत्रमा बढी सङ्क्रमण देखिएको बताउँदै उनले यसका लागि सबै एक हुन आवश्यक रहेको बताए। डेङ्गुको सङ्क्रमण बढ्न लागेपछि महानगर आफ्नो क्षेत्रभित्र पर्ने हरेक विद्यालयमा यस विषयमा जनचेतनामूलक कार्यक्रमहरु शुरु गर्ने तयारीमा रहेको उनले जानकारी दिए ।

सो अवसरमा भरतपुर अस्पतालका प्रमुख डा तिवारीले अहिले अस्पतालमा दैनिक २०० देखि ३०० जनाको डेङ्गु परीक्षण गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । बिरामीको चाप बढेअनुसारको सेवा दिनका लागि अस्पतालमा समय समयमा हुने किट अभावले समस्या पर्ने गरेको उनको भनाइ थियो ।

अस्पतालका वरिष्ठ फिजिसियन डा भोजराज अधिकारीले डेङ्गुको सङ्क्रमण रोक्न गरिने ‘स्प्रे’ खासै प्रभावकारी नहुने भन्दै ‘लार्भा खोज र नष्ट गर अभियान’ नै प्रभावकारी हुने बताए ।

ताजा समाचार

सम्बन्धित समाचार