Tuesday, September 24, 2024

देशभर डेंगुकाे त्रास : टेकु अस्पतालमा बिरामीकाे भीड (फाेटाे फिचर)

काठमाडौं -पछिल्लाे समय देशभर डेंगुकाे त्रास बढेसँगै काठमाडाैँकाे टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा राेग अस्पतालमा परीक्षण तथा उपचार गर्न आउनेकाे संख्या ह्वात्तै बढेकाे छ । पछिल्लाे दिनमा त्यहाँ पुगेका बिरामीमध्ये एक हजार ३५० मा डेंगु रोगको सङ्क्रमण भेटिएको  अस्पतालले जनाएकाे छ।

अस्पतालमा सो अवधिमा स्वास्थ्य परीक्षण गराएका करीब दुई हजार ५०० बिरामीमध्ये झण्डै आधामा सो रोग देखा परेको अस्पतातले जनाएको हाे । अस्पताल तथा केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा सो रोगको परीक्षण गराउने बिरामीको सङ्ख्या अत्यधिकरुपमा बढिरहेको छ। अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ चिकित्सक अनुप बाँस्तोलाले अस्पतालमा बिरामीको चाप अत्यधिकरुपमा बढिरहेको जानकारी दिँदै कार्यरत स्वास्थ्यकर्मीलाई बिरामीको स्वास्थ्य परीक्षण गराउन भ्याइनभ्याइ भएको बताए।

सोमबारमात्रै अस्पतालमा ४४८ ले सो रोगको परीक्षण गराएका थिए । तीमध्ये ३११ मा सो रोगको सङ्क्रमण देखा परेको छ।आज(मंगलबार) पनि बिहानैदेखि बिरामीकाे भीड लागेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीसित शुल्क नलिन निर्देशन दिएपछि अस्पतालमा बिरामीको चाप अत्याधिक बढेको जनाइएको छ ।

पछिल्लो समय काठमाडौँलगायत देशभर सो रोग प्रकोपका रुपमा नै देखा पर्न थालेको छ । अस्पतालमा बिरामी भर्ना गर्ने श्यया अभावसमेत रहेको छ । अस्पतालमा उक्त रोगका लागि २४ श्ययामात्र रहेका छन् । अस्पतालका निर्देशक चिकित्सक बासुदेव पाण्डेले रोगको परीक्षण गर्ने वृद्धि भएसँगै अस्पतालले परिसरमा डेङ्गु हेल्थ डेस्क स्थापना गरी सेवालाई अझ सहज बनाएको जानकारी दिए।

ताजा समाचार

सम्बन्धित समाचार