Tuesday, September 24, 2024

मह प्रशोधन केन्द्र स्थापना

जाजरकोट- महको पकेट क्षेत्रका रुपमा रहेको जिल्लाको नलगाड नगरपालिका–२ छेप्कामा मह प्रशोधन केन्द्र स्थापना भएको छ । नगरपालिकाका वडा नं १, २, ३ र ४ मा बढी मह उत्पादन हुने भएपछि यहाँ प्रशोधन केन्द्र स्थापना गरिएको हो ।

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको रु ५० लाख सहयोगमा उक्त प्रशोधन केन्द्र निर्माण गरिएको हो । जिल्लालाई माहुरी जोनका रुपमा स्थापना गरी काम शुरु भएसँगै नलगाडमा प्रशोधन केन्द्र स्थापना गरिएको बताइएको छ । नगरपालिकाले पनि यो क्षेत्रलाई महको पकेट क्षेत्र घोषणा गरेको छ । किसानको आर्थिकरुपमा जीवनस्तर उकास्न यहाँ प्रशोधन केन्द्र स्थापना गरिएको प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले बताए।

यस क्षेत्रमा तीन हजार २०० भन्दा बढी घरधुरीले मौरीबाट मह उत्पादन गर्ने स्थानीय सेते बुढाले बताए। जाजरकोट–डोल्पा सडकखण्डभित्र पर्ने यो क्षेत्र व्यापारिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण रहेको उनले जानकारी दिए। सो प्रशोधन केन्द्र ज्वाला साना किसान कृषि सहकारी संस्था लिमिटेडको स्वामित्वमा रहेको छ । योभन्दा पहिले मह प्रशोधन नगरी कृषकले बिक्री, वितरण गर्दै आएका थिए ।

प्रशोधन केन्द्र स्थापनासँगै यहाँका किसानले घर नजिकै मह प्रशोधन गरेर बजारीकरण गर्ने बताएका छन् । जाजरकोट, रुकुम र डोल्पाका स्थानीयवासीले यहाँ मह प्रशोधन गर्न पाउने सहकारीकी प्रबन्धक चन्द्रा थापाले बताए।रासस

ताजा समाचार

सम्बन्धित समाचार