Tuesday, September 24, 2024

आजदेखि देशभर सहुलियत पसल सञ्चालन

काठमाडौँ–आजबाट देशैभरी सुपथ मूल्य पसल सञ्चालनमा आउने भएको छ। दसैँ, तिहार र छठ पर्वका लागि सरकारले देशभर ७३ वटा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ, नेपाल खाद्य संस्थान तथा व्यापार कम्पनी र दुग्ध विकास संस्थाले सहुलियत पसल सञ्चालन गर्ने छन्।

साल्ट ट्रेडिङ्गले देशभर ३५ वटा, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २३ वटा र दुग्ध विकास संस्थानले १५ वटा सहुलियत पसल सञ्चालन गर्ने छ।

यी पसलहरू कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, ललितपुर, भक्तपुर बाहिर, बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लहान लगायतका सहरमा साल्ट ट्रेडिङको सहुलियत पसल सञ्चालनमा आउने छन् ।

त्यस्तै नेपाल खाद्य संस्थान तथा व्यापार कम्पनीले उपत्यकामा ५ र उपत्यका बाहिर १८ वटा पसल सञ्चालन गर्नेछ । दुग्ध विकास संस्थानले पनि काठमाडौँ उपत्यकामा ४ र काठमाडौँ बाहिर ११ वटा स्थानमा सहुलियत पसल सञ्चालन गर्नेछ।

सहुलियत पसलमा नुन, चामल, चिनी, गेडागुडी,खसी, च्याँग्रा, घ्यू तथा पनिरलगायतका खाद्यमा छुटको व्यवस्था गरिएको छ।

पसलमा मोटा चामलमा प्रतिकिलो ५ रुपैयाँ, नुनमा दुई रुपैयाँ, मसिनो चामलमा तथा गेडागुडीमा प्रतिकिलो १० रुपैयाँ तथा च्याँग्रा र खसी बोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिइने छ । डीडीसी घ्यू ५० रुपैयाँ र पनिरमा प्रतिकिलो १० रुपैयाँ छुट छ ।

सरकारले प्रत्येक वर्ष दसैँ, तिहार र छठमा हुने चरम महँगी, अभाव कमगर्न तथा उपभोक्ताहरूलाई सहजरुपमा गुणस्तरीय खाद्यान्न प्रदान गर्ने उद्देश्यले सहुलियते पसल सञ्चालन गर्दै आएको छ।

सहुलियत पसल भदौ २३ गतेदेखि कात्तिक १६ गतेसम्म सञ्चालनमा आउनेछन् ।

ताजा समाचार

सम्बन्धित समाचार