Wednesday, September 25, 2024

कृषि उत्पादनमा फड्को मार्दै मकवानपुरगढी

हेटौँडा- मकवानपुरगढी गाउँपालिकाबाट मासिक रु तीन करोड बराबरकोे दूध बिक्री हुने गरेको छ । सहकारीमार्फत मात्रै दैनिक १० हजार लिटर दूध बिक्री हुँदै आएको छ ।

सङ्कलकमार्फत पनि अत्यधिक परिमाणमा दूध बिक्री हुने गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम परियारका अनुसार सहकारी तथा सङ्कलकमार्फत बिक्री हुने दूधबाट गाउँपालिकामा दैनिक रु १० लाख भित्रिने गरेको छ । दूधबाहेक गाउँपालिकाबाट केरा, मकै, कोदो, अदुवालगायत कृषिउपज बिक्री हुने गरेको छ । “गाउँपालिका व्यावसायिक र आधुनिक कृषितर्फउन्मुख हुँदै गएको छ, उत्पादनमा उल्लेख्य वृद्धि भएको छ”, परियारले भने।

कृषिमार्फत समृद्ध हुने ठानेर कृषिमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्ने लक्ष्य लिएको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईँले बताए। गाउँपालिकाले प्रदेश सरकारको सहयोगमा माटो र गोबर परीक्षण केन्द्र सञ्चालनको तयारी गरेको छ । पशु आहाराका लागि दाना उद्योग सञ्चानकोसमेत तयारी भइरहेको हुमागाईँ बताउँछन्। गाउँपालिकामा हाल ३० ठूला गाईपालन केन्द्र सञ्चालित छन् ।

मकवानपुरगढी गाउँपालिकाको दोस्रो ठूलो उत्पादन यहाँको मालभोग प्रजातिको केरा हो । आधुनिक खेती प्रणालीमार्फत मकवानपुरगढीमा दैनिक लाखौँ रुपैयाँको तरकारी, केरालगायत उत्पादन बिक्रीका लागि अन्यत्र लैजाने गरिन्छ । राजमा, बोडी, मास, सिमी, भटमास तथा विभिन्न प्रकारका मौसमी एवम् बेमौसमी तरकारी यहाँ प्रशस्त उत्पादन हुने गरेको छ । रासस

ताजा समाचार

सम्बन्धित समाचार