Wednesday, September 25, 2024

भारतको केरलामा बाढीबाट मृत्यु हुनेको संख्या २ सय ९ पुग्यो

नयाँ दिल्ली- भारतको दक्षिणी राज्य केरलाको कैयौ भागमा बुधबार बाढी आउन सक्ने चेतावनीको कारण सतर्कता अपनाइएको छ।

यसअघि नै मौसमी वर्षापछि आएको बाढीको कारण देशभरी २ सय ९ व्यक्तिको मृत्यु भईसकेको छ। आगामी २४ देखि ४८ घण्टाभित्र भारी वर्षा हुने केरलाको स्थानीय अधिकारीहरुले चेतावनी दिएका छन्।

भारी वर्षाको कारण भारतको केरला, कर्नाटक, महाराष्ट्र र गुजरातमा १२ लाख व्यक्तिलाई उनहरुको घरबाट निकालेर सुरक्षित स्थानमा लगिएको थियो । ती व्यक्तिहरुमा प्रायलाई सरकारद्धारा सञ्चालित शरणार्थी शिविरहरुमा लगिएको जनाइएको छ।

केरलामा गत वर्ष पनि भीषण बाढीले सताएको थियो। सन् २०१८ मा भारतमा बाढीको कारण करिब ४ सय ५० व्यक्तिको मृत्यु भएको थियो।

हाल केरलामा यस भीषण बाढीको कारण ९५ व्यक्तिको मृत्यु हुनको साथै अन्य ५९ व्यक्ति बेपत्ता भएका केरला प्रहरीले बुधबार एएफपी समाचार समितिलाई जानकारी दिएका छन्।

यसैगरी केरलाको छिमेकमा पर्ने कर्नाटक राज्यमा यस भीषण बाढीको कारण ४८ व्यक्तिको मृत्यु भएको छ। सो राज्यमा करिब ६ लाख ७७ हजार व्यक्तिलाई उद्धार गरिएको अधिकारीहरुले जानकारी दिएका छन्।

पश्चिमी राज्य गुजरात र महाराष्ट्रमा यस बाढीको कारण ६६ व्यक्तिको मृ्त्यु हुनको साथै लाखौ व्यक्तिलाई उद्धार गरिएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ। एएफपी

ताजा समाचार

सम्बन्धित समाचार