Wednesday, September 25, 2024

सुदुर पश्चिममा सकियो रोपाइँ

काठमाडौँ- गतवर्षको तुलनामा यसवर्ष सबैभन्दा छिटो सुदुर पश्चिम प्रदेशमा धान रोपाइँ सम्पन्न भएको छ । गतवर्ष यहि समयमा ९९ दशमलव २ प्रतिशत रोपाइँ सम्पन्न भएको उक्त प्रदेशमा यसवर्ष भने सत प्रतिशत रोपाइँ सम्पन्न भएकोे कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी दिएको छ ।

साउन २१ गतेको तथ्यांक अनुसार देशभर जम्मा ८९ दशमलव ९७ प्रतिशत सम्पन्न भएको छ । गतवर्ष यहि समयमा भने ९२ दशमलव १६ प्रतिशत रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ । अहिलेको रोपाइँ गतवर्षको तुलनामा २ दशमलव १९ प्रतिशत कम हो ।

‘बर्खाको समयमा मनसुनको अस्वभाविक स्थितीले गर्दा २ वटा प्रदेशको धान रोपाइँमा बढि असर पारेको छ,’ मन्त्रालय सह–प्रवक्ता प्रदिप चन्द्र भट्टराईले भने । उनका अनुसार प्रदेश १ र गण्डकी प्रदेशमा अन्य प्रदेशको तुलनामा अघिल्लो वर्षको रोपाइँ औसतमा धेरै फरक देखिएको हो ।

मनसुनले साथ नदिँदा धान उत्पादनमा ह्रास आउने अभिव्यक्ति भने पछिल्लो समय देखि नै विभिन्न विज्ञहरूले दिँदै आइरहेका छन् ।

प्रदेश अनुसार रोपाईको अवस्था
यसवर्ष मनसुनले राम्रो साथ नदिँदा गण्डकी प्रदेश र प्रदेश १ लाई सबैभन्दा बढि असर परेको सह–प्रवक्ता प्रदिप चन्द्र भट्टराईले बताए । गण्डकी प्रदेशमा अघिल्लो वर्ष यहि समयमा ९६ दशमलव ८७ प्रतिशत रोपाइँ सम्पन्न भएपनि अहिले भने ८९ दशमलव १६ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको छ ।

त्यसैगरि प्रदेश १ मा गतवर्ष यसै समयमा ९० दशमलव ४३ प्रतिशत रोपाइँ सम्पन्न भएपनि यसवर्ष भने ८२ दशमलव ३० प्रतिशत रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।हालसम्म प्रदेश २ मा ८८ दशमलव ६९ प्रतिशत, प्रदेश ३ मा ९१ दशमलव ४२ प्रतिशत, प्रदेश ५ मा ९१ दशमलव ८७ प्रतिशत र कर्णाली प्रदेशमा ९६ दशमलव १६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

गतवर्ष यहि समयमा प्रदेश २ मा ८७ दशमलव ५१ प्रतिशत, प्रदेश ३ मा ९२ दशमलव २७ प्रतिशत, प्रदेश ५ मा ९३ दशमलव २३ प्रतिशत र कर्णाली प्रदेशमा भने ९७ दशमलव ६० प्रतिशत रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

भौगोलिक क्षेत्र अनुसार रोपाइँको अवस्था
भौगोलिक क्षेत्र अनुसार हालसम्म सबैभन्दा बढि उच्च पहाडमा ९४ दशमलव ०४ प्रतिशत र सबैभन्दा कम मध्य पहाडमा ८९ दशमलव ५२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । तराई क्षेत्रमा भने ८९ दशमलव ९३ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।

अघिल्लो वर्षको तथ्याकंलाई हेर्ने हो भने उच्च पहाडमा ९४ दशमलव ४६ प्रतिशत, मध्य पहाडमा ९२ दशमलव १६ प्रतिशत र तराई क्षेत्रमा ९२ दशमलव ०५ प्रतिशत रोपाइँ सम्पन्न भएको भट्टराईले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार