Wednesday, September 25, 2024

मध्यपहाडी लोकमार्ग ठप्पः तत्काल बाटो खुल्ने सम्भावना छैन

बागलुङ– बागलुङ जिल्लाको बडिगाढ गाउँपालिका वार्ड न. ७ भिमगिठे अन्तर्गत पर्ने तुरतुरे ताल फुटेपछि मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

सडक अवरुद्ध भएसँगै सवारी साधनको आवागमन ठप्प भएको गाउँपालिका वडाध्यक्ष मेहरसिङ पाइजाले जानकारी दिए ।

गएरातीदेखि परेको अविरल वर्षाको कारण ताल फुट्न गई राजमार्गको झण्डै २ सय मिटर सडकमा पहिरो गएको पाइजाले बताएका छन् ।

‘बडिगाढ खोला तल छ, माथी बाँदर झुण्डिने पहाड, बीचमा भएको बाटो केहि बाँकी छैन,’ उनले भने, ‘मानिस ओहोर दोहोर गर्ने ठाउँपनि छैन, चाँडै गाडि गुड्छ भन्न सक्ने अवस्था नै  छैन ।’

तुरतुरे ताल आक्रामक रुपमा नभई विस्तारै खुलेकाले वरिपरिका वस्ती तथा जमिन भने जोखिमयुक्त नरहेको उनको भनाई छ । अन्य क्षेत्र जोखिमयुक्त नभएपनि तालको कारण बाटो अवरुद्ध भएपछि सर्वसाधारणले सास्ती भोग्नु पर्ने अवस्थाको सिर्जना भएकोमा वडाध्यक्षले चिन्ता व्यक्त गरेका छन् ।

चट्टाने पहाड र ताल फुटेपछि उर्लेको खोलाले बाटो मर्मत गर्ने सम्भावना एकदमै न्यून भएकोले महिनौँसम्म पनि बाटो अवरोध हुन सक्ने उनले बताए । अहिलेपनि पानी पर्ने सम्भावना यथावतै रहेको उनी बताउँछन् ।

चट्टान फोरेर बाटो बनाउन स्थानीय स्रोत र साधन प्रयाप्त नभएपनि तत्कालको लागि भने ढोरपाटन नगरपालिकासँगको समन्वयमा डोजर बोलाइ सर्वसाधारणको लागि हिड्न मिल्ने अवस्थाको प्रयास गरिरहेको उनको भनाई छ । प्रयास सफल नभए वैकल्पिक बाटोको तयारीमा जुट्ने उनले बताए ।

वुर्तिवाङ, निसिखोला तथा तमानखोलाको वस्तीसँग जोडिएको एकमात्र बागलुङको मध्यपहाडी लोकमार्गमा अवरुद्ध चएसँगै स्थानीयलाई थप समस्या भएको छ ।

अघिल्लो वर्ष भदौ २८ गते गएको पहिरोले बडिगाढ खोला थुनिएपछि तुरतुरे ताल बनेको हो । १ हजार २० मिटर लामो तुरतुरे तालले गतवर्ष डुबाएको बस्ती तथा खेतियोग्य जमिन भने अहिले तालको वहाब घटेसँगै देखिन थालेका छन् । अहिले सम्म करिब ७० भन्दा बढि प्रतिशत तालको पानी घटिसकेको पाइजाले जानकारी दिए ।

वडाअध्यक्षका अनुसार स्थानीयको आफ्नो जमिन र बस्ती फिर्ता हुने सम्भावना देखिएको छ । गत वर्षदेखि बनेको उक्त तालले पर्यटक भित्राउनुको साथै व्यवसायीले डुङ्गा चलाएरैे मनग्य आम्दानी पनि गर्दै आइरहेका थिए ।

त्यसैगरि बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्रीले बडिगाढ खोलाले सडकको तल्लो भाग खसालेको कारण सडक भत्किएर गाडि हिँड्ने सम्भावनै नरहेको बताएका छन् ।

अहिले तुरतुरे तालको बहाव घटेकोले बस्तीलाई भने असर नगर्ने अवस्था रहेको उनले जानकारी दिए । ‘पछिल्लो समय परेको लगातारको वर्षापछि पानीको बहावले सडकको किनार पहिल्यै चर्किएको थियो, अहिले ताल फुटेपछि ठूलै पहिरो गयो,’ उनले भने ।

मध्यपहाडी राजमार्ग अन्तर्गत पर्ने उक्त सडक खण्ड अवरुद्ध हुँदा कैयौँको सँख्यामा सर्वसाधारण मर्कामा परेको क्षेत्रीले बताए ।

अहिलेको बर्खामा बागलुङको विभिन्न ठाउँहरुमा पहिरोले धेरै नै जनधनको क्षति भएको उनको भनाई छ । ‘तमानखोलामा पनि पहिरोको कारण ३ जनाको मृत्यु र ७ जना घाइते भएका छन्,’ उनले भने ।

ताजा समाचार

सम्बन्धित समाचार