Wednesday, September 25, 2024

नर्सरी व्यवसायबाट रोजगारी बढ्दै

विराटनगर- परिश्रम र लगनशील भएर काम गर्ने हो भने आफ्नो परिवारसहित अन्यलाई पनि रोजगार दिन सकिने उदाहरण यहाँका नर्सरी व्यवसायीले दिएका छन् ।

विगत ३० वर्षदेखि सञ्चालनमा आएको विराटनगर–१० स्थित ‘न्यू वाटिका नर्सरी’ का सञ्चालक शम्भुप्रसाद सिंह र उहाँकी धर्मपत्नी रितादेवी सिंहले आफ्नो जीवनको लामो समय नर्सरीको बोटबिरुवा हुर्काउँदै बिताएका छन् । नर्सरीको आम्दानीबाट आफ्नो घरखर्च, छोराछोरीलाई शिक्षाका साथै पाँचजनालाई रोजगारीसमेत दिँदै आएका छन् ।

यो व्यवसाय सञ्चालनका लागि जग्गा बढी चाहिने तर थोरै लगानी भए पनि पुग्ने र मेहनत भने धेरै लाग्ने सञ्चालक सिंहको भनाइ रहेको छ । उनको नर्सरीमा हाल १०० भन्दा धेरै फलफूलको बोटबिरुवा पाइने गरेको छ । नर्सरीमा भएको फूल र बोट बिरुवा स्थानीय बासिन्दाबीच लोकप्रिय भएको र धेरैले आफ्नो घर तथा बारीका लागि खरीद गरी लैजाने गरेको सिंहले बताए। उक्त नर्सरीमा फूल र बोटबिरुवा धेरैजसो काठमाडौँ, भारतको कलकोत्ता, सिलगुडीबाट ल्याउने गरिएको छ ।

बोटबिरुवाका लागि आवश्यक पर्ने मल नर्सरीकै झरपातलाई कुयाएर, घरबाट निस्केको फोहरबाट बनाउने र नपुगे तोरीको पिना किनेर बनाउने गरेको उनले बताए। ‘वार्षिकरुपमा कति बिक्री र आम्दानी गननर्छन’ भन्ने प्रश्नमा स्पष्ट उत्तर उनले दिएनन, अन्यलाई रोजगारी र आफ्नो परिवार सुखीसाथ पालनपोषण गर्न पुगेको उनको भनाइ रहेको छ ।

यस्तै विराटनगर–१२ स्थित हिमालय नर्सरीका सञ्चालक मोहम्मद काजिम अन्सारीले पुस्तादेखिनै यो व्यवसाय सञ्चालन गर्दै आएको योबाहेक अन्य काम गर्न पनि नआउने बताउँदै नर्सरीमा महिला र पुरुष गरेर १० जनालाई रोजगारी दिएको बताए। उनले यो व्यवसायमा धेरै मेहनत गर्नुपर्ने र सबैभन्दा समस्या वर्षामा व्यापार नहुने र घाटा हुने गरेको अनुभव व्यक्त गरे । उक्त नर्सरीमा भारतको कलकोत्ता, बनारस, लखनऊ र पुणाबाट बोटबिरुवा ल्याउने गरेको उनले जानकारी दिए।

नर्सरी छ कट्ठा जग्गामा रहेको र यहाँबाट नेपाल तथा सीमावर्ती भारतीय क्षेत्रमा आएका मानिसले फलफूलको बिरुवा र काठको बिरुवा खरीद गरी लाने गरेको उनले बताए। नर्सरीबाट सयपत्री, गोदावारी, पिटुनिया, सालबिया र लालुपाते फूलको बिरुवा बिक्री हुने रहेको छ भने काठको बिरुवामा टिक, सफेरो आदि रहेको उनको भनाइ छ । उनले समेत वार्षिक आम्दानी भन्न चाहनु भएन तर दैनिक रु सातदेखि १५ हजारसम्मको बिरुवा बिक्री हुने गरेको अनुमान लगाइन सकिन्छ ।

यस्तै अर्को विराटनगर–१३ स्थित अर्नीका नर्सरीका सञ्चालक हीरा अन्सारीले १४ कट्ठा जग्गामा २३ वर्षदेखि नर्सरी सञ्चालन गर्दै आउनुभएको छ । उक्त नर्सरीमा १२ देखि १४ जनासम्मलाई रोजगारी दिएको उनले बताए। नर्सरीको वडा दशैँबाट शुरु भई फागुन मसान्तसम्म फलफूल बिरुवा धेरै बिक्री हुने समय रहेको बताउँदै उहाँले हाल सयपत्री फूलको बिरुवा घामपानीबाट जोगाउन द्रुतगतिमा काम भइरहेको जानकारी दिए ।

तीन सयभन्दा बढी बोटबिरुवा रहेको यस नर्सरीबाट काठमाडौँ, पोखरा, हेटौँडा, धनगढीमा समेत बोटबिरुवा पठाउने गरेको उनले बताए । नर्सरीबाट वार्षिक सबै खर्च कटाएर रु पाँच लाख आम्दानी हुने गरेको अन्सारीको भनाइ रहेको छ ।रासस

ताजा समाचार

सम्बन्धित समाचार