महेन्द्रनगर– कञ्चनपुरमा ७ लाख ५० हजार विरुवा रोपिने भएको छ ।
डिभिजन वन कार्यालय कञ्चनपुरको अगुवाईमा जिल्लाभरी ७ लाख ५० हजार विरुवा रोपिने भएको हो ।
डिभिजन वन कार्यालय कञ्चनपुरले मंगलबारदेखि विरुवा वितरण शुरू गरेको डिभिजन वन कार्यालयका सूचना अधिकारी गोपालदत्त जोशीले जानकारी दिए।
उनका अनुसार मसला, लिप्टिस, टिक, बकाईनो, साल, विमल, कल्की, टुकी लगायतका १४ प्रजातिका बिरुवा वितरण भइरहेको छ । सामुदायिक वन, निजी जग्गा, राष्ट्रिय वनमा वृक्षारोपणका लागि विरुवा वितरण भइरहेको उनले बताए ।

डिभिजन वन कार्यालयमा ३ लाख ७० हजार, लालझाडी मोहना संरक्षित वनमा ८० हजार, पुर्नवासमा १ लाख, बेदकोटमा ५० हजार, बेलौरी नगरपालिकामा १ लाख र लालझाडी गाँउपालिकाले ५० हजार विरुवा उत्पादन गरिएको उनको भनाइ छ।
‘जिल्लाभरी उत्पादन भएका विरुवा वितरण भइरहेको छ,‘ जोशीले भने, ‘साउनभरी विरुवा वितरण गरिसक्छौं ।’
एक सयसम्म विरुवा रोप्ने व्यक्ति वा संघसंस्थाले जग्गाधनी र नागरिकताको प्रतिलिपी ल्याउनु पर्ने उनले बताए ।
‘सय भन्दा बढि बिरुवाका लागि सम्बन्धित वडा अथवा सव–डिभिजन वन कार्यालयबाट सिफारिस ल्याउनुपर्छ,’ उनले भने ।
उत्पादन भएजतिका विरुवा सबै संरक्षण भए कञ्चनपुरको वन, पर्यावरण संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
तस्बिरः डिभिजन वन कार्यालय कञ्चनपुरकोे नर्सरीमा उत्पादन गरिएका विरुवा।





