काठमाडौँ–प्राकृतिक विपद्बाट हुने जनधनको क्षति कम गर्नतर्फ र विपद् आइपरेमा तत्काल उद्धार एवं राहत कार्यलाई व्यवस्थित गर्न अल्पकालीन र दीर्घकालीनका योजना बनाउन सभामुख कृष्ण बहादुर महराले सरकारलाई सुझाव दिएका छन्।
आज प्रेस वक्तव्य जारी गर्दै योजना बनाई व्यवहारिक रुपमै लागू गर्न महराले सरकारको ध्यानाकर्षण गराएका हुन्।
बाढी, पहिरो र डुबानमा परी घाइते भएका उपचारमा कुनै कमी हुन नदिन समेत सरकारलाई अनुरोध गरेका छन्।
अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानले भएको जनधन क्षतिको घटनाले आफूलाई निकै मर्माहत र स्तब्ध बनाएको भन्दै निधन भएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।
साथै विनासकारी प्रकोपमा परी हराइरहेकाहरूको खोजी, प्रभावितहरूको उद्धार र पीडितहरुलाई पुनस्र्थापना एवं राहतका कामलाई प्रभावकारी ढंगबाट अघि बढाउन सरकार र सरोकारवाला निकायहरुसँग अपिल गरेका छन्।





