कुलेखानी भरिएपछि ड्यामको ढोका खोलिँदै, आसपासका नागरिकलाई सचेत रहन आग्रह

काठमाडौँ– अत्याधिक पानी परेपछि देशकै सबैभन्दा ठूलो मानव निर्मित ताल भनेर चिनिने कुलेखानी ड्याम इन्द्रसरोवर भरिएर खतराको सङ्केत देखिएपछि ड्यामको ढोका खोलिने भएको छ।

कुलेखानी जलविद्युत आयोजनाको सरोवर भरिएर २५.४/३० मिटर पुगेको हुँदा बाँध खोलेर नियन्त्रित निकास गर्नुपर्ने भएको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार कुलेखानीको ड्यामको ढोका खोलीने भएकाले मकवानपुरको भिमफेदी, इन्द्रसरोवर, वाग्मती गाउँपालिका, रौतहटको नुनथर, चन्द्रपुर, क्यान्टिन, सर्लाहीको विभिन्न क्षेत्र, सिन्धुलीको हरिहरपुर गढी क्षेत्र आसपासका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ।

पहिलो र दोस्रो गरी ९२ मेगावाट क्षमताको कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवरको ड्याम भरिएपछि पानी बाहिर निकालेर जोखिम कम गर्ने तयारी थालिएको हो। कुलेखानीको क्षमता कूल एक हजार ५३० घनमिटर रहेको छ। बिहान ६ बजेसम्ममा एक हजार ५२५ दशमलव चार घनमिटर पानी भरिइसकेको छ।

समुद्री सतहबाट ११४ मिटर उचाइमा ड्याम रहेको छ। तीन सय मिटर चौडाइ र सात किलोमिटर लम्बाइको जलाशयमा एक हजार ५३० घनमिटर पानी अट्ने क्षमता छ। ड्याम ३७ वर्षअघि निर्माण गरिएको हो।

सम्बन्धित प्रदेश प्रहरी कार्यालयहरु, जिल्ला प्रहरी कार्यालयहरुलाई आवश्यक सतर्कता र तयारी अवस्थनमा रहेको जनाइएको छ। साथै तल्लो तटिय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार