पत्रपत्रिकामा आजः उपत्यका डुबान: पोखरी मासिँदा बस्तीमै ताल, पानीमै पाल

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

गोरखापत्र
-आजको गोरखापत्रमा उद्धार तथा राहत तीव्रः एउटै जिल्लामा दुई लाखसम्म पीडित भन्ने शिर्षकमा चाँदनी हमालको समाचार छापिएको छ। अविरल वर्षापछिको बाढीको विपत्तिमा परेका तराई क्षेत्रका बासिन्दाको उद्धार तथा राहतमा तीव्रता दिइएको छ। वर्षापछिको बाढी र पहिरोमा परी कैयौँको ज्यान गएको छ भने कैयौँ घरबारविहीन भएका छन्। मध्य र पूर्वी क्षेत्रमा अत्यधिक वर्षासँगै ठूला, मझौला तथा साना नदीको बहाव बढेर मानव बस्तीमा पस्दा प्राकृतिक विपत्ति निम्तिएको हो।

-बाढीपीडित क्षेत्रमा स्वास्थ्य सेवा सुरु भन्ने शिर्षकमा सरोज ढुङ्गेलको समाचार छापिएको छ। बाढी, पहिरो तथा डुबानपछि हुनसक्ने सम्भावित स्वास्थ्य जोखिमलाई कम गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश तथा स्थानीय निकायसंँग समन्वय गरी काम थालेको छ। बाढीपछि हुनसक्ने महामारीजन्य रोग रोकथामका लागि मन्त्रालयले मातहतका निकायलाई तयारी अवस्थामा रहन निर्देशनसमेत दिएको छ। गृह मन्त्रालयसँंगको सहकार्यमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सम्भावित महामारीको जोखिम न्यूनीकरण गर्न काम गरिरहेको जानकारी दिएको छ।

कान्तिपुर
-आजको कान्तिपुरमा प्रतिवेदन थन्क्याउँदाको परिणाम भन्ने शिर्षकमा सुरेशराज न्यौपानेको समाचार छापिएको छ। भारतले बनाएका बाँध र सडकलगायत संरचनाका कारण तराई क्षेत्र बर्सेनि जलमग्न हुने समस्या सुल्झाउन ६ महिनाअघि संयुक्त प्राविधिक टोलीले स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदन कार्यान्वयनमा भारतीय पक्षले चासो नदिँदा यो वर्ष पनि तराईका सयौं बस्ती डुबानमा परेका हुन् ।

-पानीमै पाल भन्ने शिर्षकमा अवधेशकुमार झा, शिव पुरी, बिनु तिम्सिनाको समाचार छापिएको छ। शनिबार बिहान ३ बजेको हुँदो हो । बिजलीदेवी सदा अचानक ब्युँझिइन् । घरै जलाम्य भइसकेछ । कोसीको भँगालो कतिखेर खाटमुनि आइपुग्यो, पत्तै पाइनन् । हतारिँदै बालबालिका च्यापेर बाहिर निस्किइन् । आकाशबाट मुसलधारा बर्सिरहेको थियो ।

-उपत्यका डुबान: पोखरी मासिँदा बस्तीमै ताल भन्ने शिर्षकमा प्रशान्त मालीको समाचार छापिएको छ। हरेक वर्ष बर्खामा कुपण्डोल, कुमारीपाटी, जावलाखेल क्षेत्र डुबानमा पर्छ । कहिलेकाहीं सडकमा अत्यधिक पानी जम्ने कारणले यातायात घण्टौं अवरुद्ध हुने गरेको छ ।विश्व सम्पदामा सूचीकृत पाटन दरबार क्षेत्र र महापाल चोकको अवस्था त्योभन्दा दयनीय छ । प्रायले जनसंख्या वृद्धिसँगै मल्लकालीन र राणाकालीन ढल फेर्न नसक्नु यसको प्रमुख कारण ठान्छन् ।

-खोला मिचिए, माथि–माथि पानी भन्ने शिर्षकमा लीला श्रेष्ठको समाचार छापिएको छ। मध्यपुर थिमि नगरप्रमुख मदनसुन्दर श्रेष्ठले हनुमन्ते खोलामै पौडी सिके । हनुमन्तेको पानी सफा र कञ्चन थियो । बालुवामाथि बगेको सफा पानीमा बालकोट, थिमिका बालकदेखि युवा पौडिन रुचाउने गरेको उनी स्मरण गर्छन् ।

-पानी वितरणपछि मात्रै मेलम्चीलाई थप पैसा भन्ने शिर्षकमा विजय तिमल्सिनाको समाचार छापिएको छ। मेलम्ची आयोजना निर्माणमा असन्तुष्टि जनाउँदै दातृ निकाय एसियाली विकास बैंक (एडीबी) ले दोस्रो चरणको कामका लागि दिने ऋण सहयोगमा पुनर्विचार गर्ने भएको छ ।सरकारले मेलम्ची आयोजनाको दोस्रो चरण अघि बढाउन भन्दै एडीबीसँग २५ अर्ब रुपैयाँ (२५० मिलियन डलर) माग गरेको छ । मेलम्चीको दोस्रो चरणअन्तर्गत यांग्री र लार्के नदीबाट ३४ करोड लिटर पानी उपत्यकामा वितरण गर्नेलक्ष्य छ ।

राजधानी
-आजको राजधानीमा बाढी पीडितको उपचारमा कमी हुन नदिने सरकारको निर्णय भन्ने शिर्षकमा सुभाष साहको समाचार छापिएको छ। सरकारले बाढी, पहिरो तथा डुबान प्रभावित क्षेत्रमा तत्काल अत्यावश्यक सेवा सुचारु गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले रक्षा, गृह र भौतिक पूर्वाधार मन्त्रालयलगायत आवश्यक सबै निकायसँग समन्वय गरेर विद्युत्, सडक, खानेपानीलगायतका अत्यावश्यक सेवा सुचारु गर्ने निर्णय गरेको हो ।

ताजा समाचार

सम्बन्धित समाचार