काठमाडौँ– देशको पूर्व, मध्य र पश्चिम क्षेत्रका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसका कारण देशको पहाडी भूभागमा पहिरो जान सक्ने तथा तराइमा वहने नदीहरुमा जलको वहाव र स्तर हल्का बढ्न सक्ने सम्भावना रहेको छ।
साथै, हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण सामान्य अवरोध आउने सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
सोमबार बिहान मौसन बुलेटिन जारी गर्दै मनसुन न्यून चापिय रेखा नेपालको तराई भूभागमा अवस्थित छ जसको कारण मनसुनि गतिविधि देशभर सक्रिय अवस्थामा रहेको जानकारी दिएको छ।
हाल देशको मध्य तथा पूर्वी भूभागमा सामान्य देखि पूर्णतया वदली रहेको छ भने पश्चिमी भूभागमा आंशिक देखि सामान्य वदली रहेको छ। पश्चिमी भूभागका तथा मध्य भूभागका केहि स्थानहरु तथा पूर्वी भूभागका धेरै स्थानहरुमा मनसूनी वर्ष भैरहेको छ ।
आज दिउँसो देशभर सामान्य देखि पूर्णतया वदली रही देशका धेरै स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानमा र पश्चिमका एक वा दुइ स्थानमा भारी वर्षा हुने सम्भावना छ। राति देशभर पूर्ण वदली रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पश्चिमी र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पूर्वका एक वा दुइ स्थानमा भारी वर्षा हुने सम्भावना छ।
मंगलबार दिउँसो देशभर सामान्य देखि पूर्ण वदली रही केही स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको मध्य र पश्चिमका क्षेत्रका एक वा दुइ स्थानमा भारी वर्षा हुने सम्भावना छ। राति देशभर सामान्य देखि पूर्ण वदली रही देशका केही स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पश्चिमी क्षेत्रका एक वा दुइ स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
बुधबार दिउँसो देशभर सामान्य वदली रही केही स्थानहरूमा वर्षा हुने सम्भावना छ। राति देशभर सामान्य देखि पूर्ण वदली रही देशका केही स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्वी क्षेत्रका एक वा दुइ स्थानमा भारी वर्षा हुने सम्भावना छ ।





