काठमाडौँ– अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी सोमबार ७ बजे सम्म ६५ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमध्ये २४ जना महिला र ४१ जना पुरुष रहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको हो।
बाढी पहिरोमा परेका १ हजार ४ सय ४६ जनाको सकुशल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
बाढी पहिरोमा परी ३० जना वेपत्ता भएका छन्। वेपत्ता मध्य १७ महिला र २१ पुरूस रहेको प्रहरीले जनाएको छ। वेपत्ताको खोजी कार्य जारी छ। साथै ३८ जना घाइते भएका छन्। घाइतेमध्ये १७ महिला र २१ पुरुष रहेका छन्। घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रदेशका प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षकहरु लगायतका प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन्।
साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ ।





