असारे झरीसँगै नदी र चक्रपथ सफाइ

काठमाडौँ– असारे झरीसँगै उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान जारी छ ।

वाग्मती सफाइ महाअभियानको ३२२औँ हप्तामा थापाथली पुल कुपण्डोल क्षेत्रमा सफाइ गरियो । सफाइमा १९ संस्थाका ३५० जनाको सक्रियता थियो । असारे झरीमा भिज्दै गरिएको सफाइबाट तीन मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिए।

सफाइमा अधिकार सम्पन्न वाग्मती समिति, काठमाडौँ महानगरपालिका, तीन वटै सुरक्षा निकायलगायत संस्थाको सहभागिता थियो ।

सफाइपछि कुपण्डोल क्षेत्रको वाग्मती किनारमा सफाइ अभियानकर्मी र नेपाल इञ्जिनीयरिङ एशोसिएसनले विभिन्न जातका ५० वृक्षरोपण गरिएको उनले सुनाए। सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका आयोजना प्रमुख आशीष घिमिरेलगायत अभियानकर्मीको पनि सहभागिता थियो ।

रुद्रमती सफाइको २७६औँ हप्तामा रातोपुलबाट कालोपुलको दुवै किनारमा सफाइ गरियो । यस क्षेत्रमा प्रदेश नं ३ सरकारको बजेटमा निर्माण भएको झोलुङ्गे पुल आगामी हप्ता शनिबार उद्घाटन गर्न लागिएको रुद्रमती सरोकार समितिका उपाध्यक्ष रोहित गिरीले बताए। सफाइमा काठमाडौँ महानगरपालिका वडा नं ३० का अध्यक्ष दलबहादुर कार्कीलगायत अभियानकर्मीको सहभागिता थियो ।

विष्णुमती सफाइको २४९औँ हप्तामा तारकेश्वर नगरपालिका वडा नं ९ चारघर क्षेत्रमा सफाइ गरियो । सफाइसँगै यस क्षेत्रमा अर्को हप्ता रोप्न लागिएको ७०० बिरुवाको स्थान निर्माण गरिएको सफाइ संयोजक शोभाकान्त पाण्डेले राससलाई बताए।

यसैगरी वाग्मतीको सुन्दरीघाट सफाइको १३२औँ हप्तामा त्यस क्षेत्रमा वर्षात्सँगै सफाइ गरियो । सफाइमा १०० भन्दा बढी अभियानकर्मीको सक्रियता रहेको संयोजक चित्र सुनुवारले बताए। चक्रपथ सफाइको ११९औँ हप्तामा बालाजुबाट वनस्थलीसम्मको क्षेत्रमा सफाइ गरियो । २५० भन्दा बढी अभियानकर्मीको सक्रियतामा भएको सफाइमा आठ टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक लोकबहादुर टण्डनले बताए।

यसैगरी आलोकनगर क्षेत्रमा पनि ११९औँ हप्ताको सफाइ गरिएको छ । सफाइसँगै घरदैलो जनचेतनामूलक अभियान पनि सञ्चालन गरिएको संयोजक प्रमिला पौडेलले बताए । वाग्मतीको गुह्येश्वरीमाथिको क्षेत्र, तिलगङ्गा, मनोहरालगायत स्थानमा पनि आज सफाइ गरिएको थियो ।रासस

ताजा समाचार

सम्बन्धित समाचार