बाढीपहिरोमा परी सात जनाको मृत्यु, ७ बेपत्ता

काठमाडौँ– गृह मन्त्रालयका अनुसार लगातार परेको वर्षापछि आएको बाढी र पहिरोका कारण ७ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

मन्त्रालयले देशैभरीबाट शुक्रबार ३ बजे सम्म संकलन गरेको तथ्यांक अनुसार ६ जिल्लामा ७ जनाको मृत्यु भएको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाकी शाखा अधिकृत रमा घिमिरेले जानकारी दिएकी हुन्।

झरीपछि आएको बाढी र पहिरोमा परी रामेछापमा एक, पर्सामा १, भोजपुरमा १, सिन्धुलीमा १,जनाको मृत्यु भएको छ । त्यसैगरी, काभ्रोमा २ र ललितपुरमा पनि १ जनाको मृत्यु भएको हो।

त्यस्तै बाढीमा परि ७ जना बेपत्ता भएका छन्। बिहीबार रातिदेखि मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण गएको बाढी र पहिरोका कारण चार सय घर डुबानमा परेका छन् भने दस हजार मानिस प्रभावित भएको घिमिरेले बताइन्।

निरन्तरको वर्षाले देशका मुख्य नदी तटीय क्षेत्रमा पानीको बहावको खतरा बढ्दो रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग, बढी पूर्वानुमान महाशाखाले आज बाढी पूर्वानुमानसम्बन्धी विशेष सूचना निकालेर बागमती, कमला, कन्काई र कोशी नदीमा पानीको बहाव बढ्दो रहेकाले आसपासका बस्ती तथा क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको हो ।

आज बागमती नदीको तराई क्षेत्रमा बहाव खतरा माथि बढ्दो रहेको छ । कमला र कन्काईमा बहाव सतर्कता तह नजीक पुगेको छ । कोशी नदीमा बहाव सतर्कता तह नजीक पुगेको छ । प्रदेश नं १, २ र ३ का सबै चुरे खोलाहरुमा बहाव सतर्कता माथि र उच्च खतरा रहेको तथा भोलीसम्मै कामय रहने भएकाले सबै शक्ति प्रतिकार्यमा लगाउन आग्रह गरिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार