देशभर भारी वर्षाको सम्भावना, तीनवटा प्रदेशमा बाढीको खतरा

काठमाडौँ– मनसुन न्यूनचापिय रेखा नेपालको नजिक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आगामी २४ घण्टा सम्म पनि मनसुन न्यूनचापिय रेखा नेपालको पुर्व देखि पश्चिम तराई भूभागमा रहिरहने विभागले जनाएको हो।

मनसुनी सक्रिय भएसँगै देशभर पानी परिरहेको छ। लगातार वर्षा हुँदा आइपर्ने प्राकृतिक विपद्को जोखिम पनि बढ्न थालेको छ।

आज बिहिबार देशका अधिकांश भूभागमा पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै देशको पश्चिमि भेगका एकदुई स्थानहरुमा र मध्य र पूर्वी नेपालका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावनारहेको जनाइएको छ। राती देशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भूभागमा वर्षाको सम्भावना छ। देशको केहि स्थानहरुमा भारी वर्षाको सम्भावना छ।

शुक्रबार देशका अधिकांश भूभागमा बदली रहनेछ। देशका पश्चिमी भूभागका केहि स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरुमा वर्षा हुनुको साथै एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना छ। राती देशका अधिकांश भूभागमा बदली रहनेछ। देशका पश्चिमी भूभागका केही स्थानहरू र मध्य र पूर्वका धेरै स्थानहरूमा वर्षा हुनुको साथै एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान रहेको छ।

त्यसैगरी शनिबार देशका अधिकांश भूभागमा बदली रहनेछ। देशका धेरै स्थानहरूमा वर्षा हुनुको साथै एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ। राती देशका अधिकांश भूभागमा बदली रहनेछ। देशका धेरै स्थानहरूमा वर्षा हुनुको साथै एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशको पश्चिम भेगका एकदुई स्थानहरूमा र मध्य र पूर्वी नेपालका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना भएकोले ती क्षेत्रका नदिहरुमा जलको वहाव, स्तर वढन सक्ने र पहाडि क्षेत्रहरुमा पहिरोहरूको जोखिम बढ्न सक्ने भएकोले उच्च सतर्कता अपनाउनु महाशाखाले आग्रह गरेको छ। साथै, हवाई तथा सडक यातायातमा समेत अवरोध आउन सक्ने जनाएको छ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले बुलेटिन जारी गर्दै तुलनात्मक रुपमा प्रदेश १,२ र ३ का धेरैजसो ससाना खोलानालाहरू आज (बिहिबार) देखि पर्सी (शनिबार) सम्म जुनसुकै बेला सतर्कता तह भन्दा माथि जान सक्ने सम्भावना रहेको जनाइएको छ।

तराईको डुबान भइरहने क्षेत्र, नदी छेउछाउको बाढी पसिरहने क्षेत्र आसपास सुरक्षित स्थान र बाटोको पहिचान गर्न आग्रह गर्दै विपद हुनै लाग्दा सहजै जान सकिने गरी तयार हुन समेत आग्रह गरेको छ।

सबै सरोकारवाला निकाय तयारीसहित उच्च सतर्कतामा रहन समेत पूर्वानुमान महाशाखाको आग्रह छ।

ताजा समाचार

सम्बन्धित समाचार