काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाको कामलाई तीव्रता दिन खानेपानी मन्त्रालयको पहलमा सो क्षेत्रका जनप्रतिनिधिसहितको उच्चस्तरीय बैठक गरिएको छ ।
खानेपानीमन्त्री बीना मगरको अध्यक्षतामा आज बुधबार मन्त्रालयमा भएको बैठकमा मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्न देखिएका समस्या समाधान गर्ने सम्बन्धमा गहन छलफल भएको मन्त्रालयले जनाएको छ ।
मन्त्री मगरले मेलम्ची आम सरोकार र राष्ट्रिय गौरवको आयोजना भएकाले आयोजनाको बाँकी काम तीव्रताका साथ सम्पन्न गर्न आफू लागिरहेको जानकारी गराएकी थिइन् । उनले आयोजनाको निर्माण कार्यमा देखिएको असहजता हटाउने काममा आवश्यक सहयोग गर्न सहभागीलाई आग्रह गरेकी छन् ।
बैठकले आयोजनालाईबिना अवरोध समयमै सम्पन्न गर्न ‘आयोजना अध्ययन तथा सहजीकरण कार्यदल’को प्रतिवेदनका सुझावलाई आधार मानी समस्या समाधानका लागि पहल र समन्वय गर्ने निर्णय गरेको छ । बैठकमा पूर्वमन्त्री एवं सिन्धुपाल्चोकका प्रतिनिधिसभा सदस्यद्वय अग्निप्रसाद सापकोटा र शेरबहादुर तामाङ, खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ र मेलम्ची खानेपानी आयोजना विकास समितिका उपकार्यकारी निर्देशक रामचन्द्र खरेलको सहभागीता रहेको थियो।
उपस्थित जनप्रतिधिले मेलम्ची आयोजनामा देखिएका समस्याका बारेमा आफ्नो धारणा व्यक्त गर्दै आयोजना सम्पन्न गर्न पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका थिए । गत डिसेम्बरमा आयोजना निर्माणको ठेक्का लिएको सिएमसी कम्पनीले काम एकाएक छोडेपछि आयोजनाको काम प्रभावित हुँदै आएको थियो । रासस





