विषादी परीक्षणबारे सर्वोच्चमा आज सुनुवाई हुँदै

काठमाडौँ– भारतबाट भित्रने मात्र होइन नेपालमा नै उत्पादन हुने फलफूल तथा तरकारी पनि परीक्षण गरेर मात्र बजारमा पठाउँन माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिटको पहिलो बहस आज बुधबार हुँदैछ।

सर्वोच्च अदालतमा बिहान ११ः३० मिनेटबाट बहस शुरू हुने अधिवक्ता विष्णु प्रसाद तिमिल्सिनाले जानकारी दिए। सो मुद्दाको सुनवाई न्यायाधीश आन्नद मोहन भट्टराईको एकल इजालसमा परेको छ।

उपभोक्ता हित संरक्षण मञ्च र स्वतन्त्र राष्ट्रिय अभियानले फरक फरक रिट मंगलवार दर्ता गराएको हुन्। दुबै निवेदनको सुनुवाई बुधबारका लागि तोकिएको छ।

विषादीयुक्त फलफुल तथा तरकारी प्रयाग गर्दा गर्भवती महिलाहरु प्रभावित हुने र भविष्यमा जन्मिने बच्चालाई समेत असर गर्ने हुँदा परीक्षण नगरिने निर्णय जन स्वाथ्यको रुपमा गलत भएको दावी निवेदनमा जिकीर गरिएको छ।

विषादी परीक्षण गर्ने मेसिन नभएको बाहानामा विषादीयुक्त तरकारी तथा फलफुलहरु बेच्न खोज्नु नेपालको संविधानले सुरक्षित गरेको खाद्यको मौलिक हक विरुद्ध हुने रिटमा उल्लेख छ। १९ गतेको मन्त्री परिषद्को वैठकले केही दिन पहिलो रोक लगाएको विषादी परिक्षा खुल्ला गर्ने निर्णय गरेको थियो । भारतीय दुतावासले पत्र लेखेर रोक्ने निर्णय खारेज गर्न दवाव दिएपछि सरकार पछि हटेको थियो।

विषादीयुक्त खानाले स्वास्थ्यमा विभिन्न समस्याहरु देखा पर्ने भन्दै यो निर्णय आम नागरिकको मौलिक हकको विरुद्ध भएको रिटमा उल्लेख छ। साथै मौलिक हकसंग जोडिएको विषयमा राजपत्रमा प्रकाशित भइसकेको सुचनालाई सच्याउन नमिल्ने रिटमा उल्लेख छ।

ताजा समाचार

सम्बन्धित समाचार