संघीय र प्रदेश सरकारको पहलमा मलको आपूर्ति

कैलाली– संघीय सरकार र प्रदेश सरकारको पहलमा डिएपी मल आपूर्ति भई आज सोमबारबाट कैलालीको धनगढी र बौनिया गरी दुई ठाउँबाट बिक्री वितरण शुरु गर्न लागिएको छ।

कैलाली जिल्लामा रासायनिक मल डिएपीको अभावका कारण कृषक समस्यामा परेपछि सरकारले रासायनिक मल आपूर्ति गर्न पहल गरेको साल्ट ट्रेडिङ कर्पोरेशनको धनगढी कार्यालयका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले बताए।

वीरगञ्जस्थित साल्टट्रेडिङ कर्पोरेशनको गोदाममा मौज्दात रहेको डिएपी मलमध्ये ५०० मेट्रिकटन मल कैलालीमा आपूर्ति गरिएको पाण्डेले जानकारी दिए। सरकारको अनुदानित उक्त ५० किलो प्रतिबोरा मलको रु दुई हजार २७६ मा बिक्रीवितरण गर्न लागिएको जनाइएको छ।

रोपाइँ गरेकै दिन प्रयोग गर्नुपर्ने डिएपी मलको अभाव हुँदा किसान समस्यामा छन्। यस वर्ष मनसुन अहिलेसम्म सक्रिय हुन नसक्दा कैलालीलगायतका जिल्लामा असार तेस्रो हप्तासम्म अधिकांश जग्गामा रोपाइँ हुनसकेको छैन।

सरकारी अनुदानको मल विक्रेता कृषि सामग्री कम्पनी लिमिटेड र साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडको धनगढीस्थित गोदाममा डिएपी मलको मौज्दात जेठ महीनामै सकिएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार