काठमाडौँ– काठमाडौँ–१५ स्थित कङ्केश्वरीमा झोलुङ्गे पुल बिग्रिएपछि सर्वसाधारण आवतजावतमा समस्या भएको छ।
स्थानीय लखः तीर्थ नजिकैको डल्लुको बस्तीलाई जोड्ने करीब ५० मिटर लामो उक्त पुलको किनारामा रहेको करीब आठ फिट अग्लो ढुङ्गा माटो वर्षाले बगाएपछि सर्वसाधारणलाई समस्या भएको हो।
उक्त वडाले पुल निर्माणका लागि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिसँग समन्वय र सहकार्य गरेको वडाध्यक्ष ईश्वरमान डङ्गोलले जानकारी दिए।
उनका अनुसार दैनिक हिँड्डुल गर्नुपर्ने सर्वसाधारण आवतजावतमा प्रभावित भएका कारण एक हप्ताभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने छ।
राष्ट्रिय विभूति शङ्खधर साख्वाले बालुवा निकालेको स्थानका रूपमा लखः तीर्थलाई स्थानीयवासीले पवित्रस्थलका रूपमा लिन्छन्।





