काठमाडौँ– विदेशबाट आयात गरिने तरकारी र फलफुल लगायतका खाद्यजन्य वस्तुहरुको विषादी जाँच बारे साझा पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।
शनिबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाली बजारका तरकारी, फलफुल लगायतका खाद्यजन्य वस्तुमा जनस्वास्थमा गम्भिर असर पर्ने विषादी र रसायन रहेको भन्ने बारेमा आम जनताको सरोकार रहँदै आएको भन्दै भारतबाट आयात हुने तरकारी र फलफुलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको समाचार दुर्भाग्यपुर्ण भएको जनाएको हो।
“खाद्यजन्य वस्तुहरुको विषादी जाँच लगायत क्वारेन्टाईन परीक्षण अन्तराष्ट्रिय व्यापारको आधारभुत शर्त हो। अझ विषादी परीक्षण जस्तो आम जनस्वास्थमा प्रत्यक्ष प्रभाव पर्ने विषयमा सरकार बढि गंभीर र संवेदनशील हुनु अनिवार्य छ। कुनै पनि बहानामा विषादी चेक-जाँच बिना खाद्यजन्य वस्तु आयात गर्नु अन्तराष्ट्रिय व्यापारको आधारभुत मान्यताको बर्खिलाप हो। त्यो नागरीकको स्वास्थमाथिको गंभिर खेलबाड हो,” विज्ञप्तिामा भनिएको छ।
साधै कुनै पनि देशबाट आयात गरिने खाद्यजन्य वस्तुको विषादी लगायत क्वारेन्टाइन परिक्षणका लागि आवस्यक पूर्वाधार प्राथमिकताका साथ यथाशिघ्र तयार गर्न साझा पार्टी सरकारलाई आग्रह गरेको छ। तर परिक्षण सुविधा नभएको बाहानामा जनस्वास्थमा प्रत्यक्ष असर पर्ने खाद्यजन्य वस्तु बिना परीक्षण आयात गर्न दिनु गैरजिम्मेवारी कार्य रहेको टिप्पणी पार्टीले गरेको छ ।
जनस्वास्थमा जोखिम हुने तरकारी, फलफुल लगायतका खाद्यजन्य वस्तुको बिना परीक्षणको आयातमा तुरुन्त प्रतिबन्ध लगाउन साझा पार्टी सरकारलाई आग्रह समेत गरेको छ।





