बाढी बुलेटिनः सोमबारसम्म काठमाडौँ उपत्यकामा बाढीको खतरा

काठमाडौँ– देशको प्रमुख तथा अन्य साना नदीहरूमा वहाव सामान्य रहने भएतापनि भोलिसम्म काठमाडौँ उपत्यकामा बाढीको खतरा रहेको जनाएको छ ।

आज (आइतबार) तीन दिनको बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै बाढी पूर्वानुमान महाशाखाले वाग्मती नदीको जलाधार क्षेत्रमा समेत वहाव बढ्ने र काठमाडौ उपत्यका क्षेत्रमा शाखा नदीहरुले साँझपछि सतर्कता तह पार समेत गर्न सक्ने जनाएको हो।

आज देशैभरी मनसुन थप सक्रिय हुने र आगामी तीन दिन प्रमुख नदीहरु कोशी, गण्डकी र कर्णालीमा वहाव सतर्कता तह भन्दा तलै रहने महाशाखाले जनाएको छ ।

आगामी ३ दिन (आइतबार, सोमबार र मंगलबार) देशका प्रमखु नदीहरू कोसी, नारायणी, कर्णाली र महाकालीमा वहाव उल्लेख्य बढेता पनि सतर्कता तह भन्दा तलै रहने हुँदा ठुलो बाढी विपद्को सम्भावना नरहेको बताइएको छ।

बाँकी मझौला तथा ससाना नदी तथा उपजलाधारहरूमा वहाब तुलनात्मक रूपमा बढ्ने सम्भावाना भएकाले सबैलाई सतर्क रहन आग्रह गरिएको छ। भोली र पर्सी देशैभर सतर्क रहन भनिएको छ।

शनिबार अपराह्नबाट परेको अविरल वर्षाले काठमाडौँमा नदी तथा खोलाहरुमा पानीको सतह बढेकाले अधिकांश खोलाहरू बाग्मती, विष्णुमति, धोविखोला, टुकुचा लगायतमा पानीको सतह निकै माथि पुगेको थियो । कतिपय क्षेत्रमा खोला भरिएर आसपासका क्षेत्र समेत डुबानमा परेका थिए। अहिले ति क्षेत्रका अवस्था सामान्य रहेको जनाइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार