काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
नागरिक
-आजको नागरिकमा खडेरीले मकै सखाप भन्ने शिर्षकमा समाचार छापिएको छ। खोटाङका किसानले लामो खडेरीले मरेका मकैको बोट उखाल्न थालेका छन्। सामान्य वर्षापछि छरेको मकै उम्रिए पनि आधा मिटर अम्लो नहुँदै खडेरी मरेपछि किसानले उखेलेर गाईवस्तुलाई घाँस दिन थालेका छन्।
-घिउ उद्योगमा आगलागी भन्ने शिर्षकमा समाचार छापिएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरमा रहेको सुशील वनस्पति घ्यु उद्योगमा शनिबार बिहान भीषण आगलागी भएको छ। बिहान करिब साढे दुई बजेदेखि सुरु भएको आगलागी साँझ करिब ७ बजेतिर नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए।
-हुरीपीडितका घर निर्माणमा ढिलाइ भन्ने शिर्षकमा समाचार छापिएको छ। घर निर्माण ढिलाइ भएको भन्दै बाराका हुरीपीडितले गुनासो गरेका छन्।
अन्नपूर्ण पोस्ट
-आजको अन्नपूर्ण पोस्टमा ‘किसानको पीडा कसले सुन्छ?’ भन्ने शिर्षकमा समाचार छापिएको छ। भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण नगर्ने सरकारी निर्णयको चौतर्फी विरोध भएको छ। नेपाली कृषिजन्य वस्तु निर्यातकर्ता व्यवसायी र उपभोक्ताले सरकारको पछिल्लो निर्णयको विरोध गरेका छन्। नेपाली अदुवा उत्पादक तथा व्यवसायी संघ, अलैंची व्यवसायी महासंघ, जडीबुटी उत्पादक महासंघ, कफी उत्पादक संघ, चिया व्यवसायी संघ र अर्गा्निक उत्पादक संघले सरकारको निर्णयप्रति विरोध जनाएका हुन्।
-बर्खायाममा खडेरी भन्ने शिर्षकमा समाचार छापिएको छ। पानी नपर्दा पाँचथरका किसान चिन्तित बनेका छन्।उनीहरुले अझै असारे गीत घन्काउन पाएका छैनन्। खेत बाँझै छ।
-६० मुसहर परिवारलाई एउटा चापाकल भन्ने शिर्षकमा समाचार छापिएको छ। महोत्तरको बलवा नगरपालिका–१० धमौराको मुसहरी टोल ६० घरपरिवार छन्। बस्तीमा लहरै मुसहर समुदायको बसोबास छ। तर,उनीहरुलाई न बस्ने घर छ।न प्यास मेटाउने पर्याप्त चापाकल नै।
-गाउँमाथि पहिरो भन्ने शिर्षकमा समाचार छापिएको छ। मोलुङ गाउँपालिका ३ को केराबारी गाउँमाथिबाट ०७२ बैशाख १३ गते दिउँसो डरलाग्दो पहिरो खस्यो। पानी नपर्दै गाउँमाथिको पहाड भत्किनुको कारण थियो, अघिल्लो दिन बैशाख १२ गते गएको भूकम्पको अर्को पराकम्प। यो वस्तीमाथि रहेको पहाड चिरा चिरा परेर अहिले पनि पहिरो खसिरहन्छ।
-मुआब्जा विवादले काम ठप्प भन्ने शिर्षकमा समाचार छापिएको छ। जग्गा मुआब्जा विवाद चर्किएपछि वागमती नदी सौन्दर्यीकरण र करिडोर निर्माणको काम ठप्प भएको छ। सिनामंगलस्थित भत्केको पुलदेखि वानेश्वरसम्मको करिब २ किमि क्षेत्रमा मुआब्जा विवाद चर्किएको छ। दुई दशकअघिको गोकर्णेश्वरदेखि गुहेश्वरीसम्मको जग्गा मुआब्जा विवाद समाधान हुन नसकिरहेकै अवस्थामा अर्को विवाद थपिएको हो। वाग्मती सरसफाइ अभियान जारी,फेवाताल किनारामा चरा उत्सव,बिना अनुमति सडक विस्तार शीर्षकमा पनि समाचार छापिएको छ।
कान्तिपुर
-आजको कान्तिपुरमा ‘सरकार भारतसामु झुकेकै हो?’ भन्ने शिर्षकमा समाचार छापिएको छ। भरतबाट आयातित तरकारी र फलफुलमा विषादी परीक्षण रोकेर सरकार भारतसामु झुकेको भन्दै सत्तारुढ दलकै सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका छन्।
-वन कर्मचारीको विदेशतिर लर्को भन्ने शिर्षकमा अब्दुल्लाह मियाँको समाचार छापिएको छ। वन तथा वातावरण मन्त्रालयका सहसचिव महेश्वर ढकाल जर्मनीको बोनमा आयोजित जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा तीन साता बिताएर गत शनिबार काठमाडौं फिरेका छन्। जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका महासन्धि ९यूएनएफसीसीसी० को ‘फोकल व्यक्ति’ का हिसाबले कार्यक्रममा ढकालको सहभागिता सान्दर्भिक भए पनि उनले असम्बन्धित उपसचिव गणेशविक्रम शाहीलाई पनि लगेका थिए ।
-ठेक्का अवधि सकिए पनि बनेनन् राजधानीका सडक भन्ने शिर्षकमा विमल खतिवडाको समाचार छापिएको छ। ठेक्का सम्झौता सकिँदासमेत राजधानीका अधिकांश सडक निर्माण भएका छैनन । के हिउँद, के बर्खा, स्थानीय सधैंको सास्ती खेप्न बाध्य छन् । पानी परे हिलोले हिँडिसाध्य हुन्न । परेन भने सामान्य मास्कले समेत नथेग्ने गरी धुलो उड्छ ।
-घट्दै पानीको सतह भन्ने शिर्षकमा समाचार छापिएको छ। तराई क्षेत्रमा भूमिगत पानीको सतह घट्दै गएको छ। कम वर्षा र चुरेको फेदीमा बढेको तीव्र बस्ती विकासले जमिनमा पानी सञ्चय हुनै छाडेको छ। मास्कविना मुस्किल,सरकारी जग्गा व्यक्तिलाई,धान रोपाइँमा ढिलाइ,गाई संरक्षणमा गर्न गौशाला शीर्षकमा पनि समाचार छापिएको छ।





