वृक्षरोपण वर्षलाई प्रभावकारी बनाउन मन्त्रालय प्रतिबद्ध छः मन्त्री बस्नेत

काठमाडौँ– वृक्षरोपण वर्षलाई अझ प्रभावकारी बनाउन निर्देशिका, अवधारणापत्र तयार भएको, वृक्षरोपण कार्यक्रम एकाइ गठन गरेर जानेतर्फ सोच राखिएको वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले जानकारी दिएका छन्।

विनियोजन विधेयक, २०७६ माथि वन तथा वातावरण मन्त्रालयका विभिन्न शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सरकारका नर्सरीमा नै दुई करोड र निजी नर्सरीमा थप तीन करोड बिरुवा रहेको बताउँदै उनले वृक्षरोपण गरिएको बिरुवालाई संरक्षण गर्नु सङ्घीय, प्रदेश र स्थानीय सरकार तथा सरोकार भएका सबै निकाय एवं आम नागरिकको समेत दायित्व भएको स्पष्ट पारे।

मन्त्री बस्नेतले चुरे क्षेत्रको संरक्षणका लागि योजनाबद्ध प्रयास भइरहेको र राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई थप प्रभावकारी बनाइने दृढता व्यक्त गर्दै मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएकाले त्यसलाई न्यूनीकरण, व्यवस्थापन गर्न साझा प्रयास जरुरी रहेको जानकारी दिए।

हरियाली प्रवद्र्धन, फोहरमैला व्यवस्थापन, शहरी क्षेत्रमा प्रदुषण नियन्त्रण र हरित ग्यास उत्सर्जनलाई कम गर्नका लागि पनि योजनाबद्ध प्रयास गरिने उहाँले सदनलाई जानकारी गराए ।

मन्त्री बस्नेतले नदी जलाधार क्षेत्रको संरक्षणका लागि तीन वटै सरकारले योजनाबद्ध प्रयास गरेको र भू–संरक्षणको कामसमेत शुरु भएकोे स्पष्ट पारे।

त्यसैगरी, सरकारले वनलाई आर्थिक समृद्धिको आधार बनाउँदै वैज्ञानिक व्यवस्थापनको कार्ययोजनासहित काम शुरु गरिसकेको बताए।

ताजा समाचार

सम्बन्धित समाचार